काठमाडौं । सरकारले किसानको उखुको रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिएपछि किसानको आन्दोलन रोकिएको छैन ।
योभन्दा अगाडि आफूहरुसंग सरकारले गरेको प्रतिवद्धता पुरा गर्नुपर्ने तथा मिल सञ्चालकलाई रकम भुक्तानीका लागि निर्देश गर्नुपर्ने लगायतका माग राखेर उखु किसानहरु गत आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत रहेका छन् । आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बरु सिंहदरबारदेखि बालुवाटार घेराउ गर्नेसम्मको कार्यक्रम उनीहरुले तय गरेका छन् ।
यसैबीच किसानहरुको काठमाडौं केन्द्रित आन्दोलनमा सहभागिता पछि बढ्दै गएको छ । आज पनि जारी आन्दोलनमा समर्थन जनाउने क्रममा पर्सा, रौतहट, नवलपरासी तथा बाराका किसानहरु समेत यतिबेला काठमाडौं पुगेका छन् ।
योभन्दा अगाडि सर्लाहीका किसानमात्र आन्दोलनमा सहभागी थिए ।
आज ११ बजेबाट सुरु भएको किसानहरुको आन्दोलन दिउँसो ३ बजेसम्म जारी रहने छ । किसानहरुका अनुसार उद्योग वाणिज्य आफूर्ति मन्त्रालयले आफूहरुलाई आज वार्ताका लागि बोलाएको भए पनि अस्वीकार गरेका छन् ।
चिनी मिलबाट भुक्तानी हुन बाँकी रकम नपाएसम्म वार्तामा सहभागी नहुने उनीहरुको अडान कायमै रहेको छ ।