गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना सङ्क्रमितको उपचार गराइराखेको धवलागिरी अस्पताल बागलुङको निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री गुरुङले मङ्गलबार साँझ अस्पतालको समस्या तथा कोरोना रोकथामका विषयमा जानकारी लिएका थिए ।
अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको भन्दै मुख्यमन्त्री गुरुङ अस्पताल सुधारका लागि पटकपटक निरीक्षणमा आउने गरेको धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिए।
मगरका अनुसार मुख्यमन्त्री गुरुङले अस्पतालको अक्सिजन प्लान्ट, आइसीयू, सर्जिकल वार्डलगायतको अवलोकन गरेका थिए ।
मुख्यमन्त्री गुरुङले कोरोना सङ्क्रमित भएर आइसोलेसन तथा आइसीयूमा रहेका बिरामीको अवस्था सिसीटिभी फुटेजबाट प्रत्यक्ष अवलोकन गरी जानकारीसमेत लिएका थियो ।
अस्पताल व्यवस्थापन समितिले निरीक्षणमा पुग्नुभएकोमुख्यमन्त्रीलाई आइसीयूकक्षलाई सबै क्षमतामा चलाउन जनशक्ति अभाव रहेको, तीन शय्याको आइसीयूलाई पाँच शय्यामा स्तरवृद्धि गर्नुपर्ने र अक्सिजन भर्ने उपकरण खरिदका लागि बजेट मागलगायतका समस्या अवगत गराएको थियो ।
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारको पहलमा धवलागिरि अस्पतालमा निकै सुधार आएकामा खुशी व्यक्त गरे । उनले कोरोना रोकथाममा अस्पतालले खेलको भूमिकाप्रति प्रशंसा गरेका थिए । धवलागिरि अस्पताल गण्डकी प्रदेशमै पहिलोपटक कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पताल हो ।
शुरुमा कोरोना सङ्क्रमित राख्दै आएको अस्पतालले पछिल्लो समय सङ्क्रमितको चाप बढ्दै गएपछि लक्षण देखिएका सङ्क्रमितलाई मात्रै भर्ना लिँदै आएको छ ।
अस्पतालमा हाल तीन आइसीयू, दुई भेन्टिलेटर र २५ शय्याको आइसोलेसनकक्ष रहेको छ । गण्डकी प्रदेश सरकारले २०० शय्याको उपप्रादेशिक अस्पताल बनाउने लक्ष्यअनुरूप काम भइरहेको मुख्यमन्त्री गुरुङले जानकारी दिए ।