पोखरा । पोखरा महानगरपालिकाद्वारा पाताले छाँगामा निर्माण गराउन लागेको परियोजनामा छोरेपाटन माध्यमिक विद्यालयका पूर्व व्यवस्थापन समिति सदस्यले आपत्ति जनाएका छन् ।
वि.सं २०३५ सालदेखि उक्त स्थानमा भोगचलानको आधिकार प्राप्त गरेको विद्यालयले पाताले छाँगाको आम्दानीमार्फत् विद्यालयको व्यवस्थापन समालेका कारण आपत्ति जनाएको हो । विगत ३५ सालदेखि माविले आफ्नै लगानीमा पातालेछाँगोको संरक्षण र सम्वर्धन गर्दै आएको छ । त्यसका साथै विद्यालयले पर्यटकीय स्थलको आम्दानीमार्फत् विद्यालयको शैक्षिक उन्नती तथा प्रगतिमा खर्च गरिरहेको छ ।
अवलोकनार्थ तोकिएको प्रवेश शुल्कबाट विद्यालयले निजी स्रोतका शिक्षक कर्मचारीहरुको तलबभत्ता र प्रशासनिक खर्च समेत गर्दै आएको छ ।
तर अहिले भने महानगरले पर्यटकलाई आर्कषक गर्न र संरचना निर्माण गर्ने नाममा पाताले छाँगाको स्वामित्तव खोस्न लागेको समिति सदस्यहरुको आरोप छ । पोखरा महानगरले निर्माण गर्न लागेको ३ परियोजनामध्ये १ डेभिजफलमा निर्माण हुन लागेको ग्लास बिज्र हो । जून परियोजना गत वर्ष पुसमा बसेको पोखरा महानगरको छैटौं नगर सभा तथा विधानसभाले निजी साझेदारी (पिपिपी) अन्तर्गत ३ परियोजना अगाडि बढाउने सैद्धान्तिक सहमति दिएको थियो । अहिले उक्त परियोजना अगाडि सार्दै सेती क्योनिङ प्रालि द्रारा परियोजना निर्माण गर्न लगाउने तरखरमा महानगर अगाडि बढेपछि समितिले पुनः यसको विरोध गरेको हो ।
पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य देवी आचार्यले भोगचलान गरेको जग्गामा महानगरको परियोजनाले विद्यालयको आयस्रोतमा क्षति हुने बताए । उनले भने, ‘विद्यालयले यहींको आम्दानीबाट व्यवस्थापक भार सम्हालेको छ, महानगरले आफ्नो स्वामित्तवमा यस स्थानलाई लिने निर्णय गरे यसले विद्यालयलाई समेत ठुलो धक्का पुग्छ ।’ साथै समितिले स्थानीय क्षेत्रमा भौतिक विकासको विरोधी नभएको जनाएको छ । उसो त पातालेछाँगोका स्वामित्तवका विषयमा विद्यालय र सरकारी निकायबीच विभिन्न समयमा विवाद उत्पन्न भइरहेको हुन्छ ।