एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या मंगलबारसम्म ९९ लाख ६ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार नयाँ संक्रमित फेला परेका छन् ।
मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसको संक्रमण भएकामध्ये १ लाख ४३ हजार ७ सय ९ जनाको निधन भएको छ । कोभिड–१९ बाट निकै प्रभावित नयाँदिल्लीमा २४ घण्टाको अवधिमा १ हजार ३ सय ७६ जना नयाँ रोगी फेला परेका छन् भने ६० जनाको निधन भएको छ । सोमबारसम्म राजधानी नयाँदिल्लीमा कोभिड–१९ कै कारण निधन हुनेको संख्या १० हजार नाघेको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख २२ हजार व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिव्रता दिने बताएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १५ करोड ५६ लाखको हाराहारीमा नमुना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् । रासस