अमिलो रोपेर सुन्तला खोज्दा देश बर्बाद भयोः कांग्रेस नेता केसी

दिपक के श्रेष्ठ

अमिलो रोपेर सुन्तला खोज्न गल्ती हुने बताउँदै नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुन नरसिंह केसीले कम्युनिष्टलाई भोट दिँदा लोकतन्त्र असुरक्षित भएको बताएका छन् । कम्युनिष्टले नेपाल र नेपालीलाई विश्वसामु भ्रष्ट भनेर चिनाएको भन्दै उनले आक्रोश पोखेका छन् ।

पोखराको पृथ्वीचोकमा सोमबार कास्की कांग्रेसद्वारा आयोजित विरोधसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्ने क्रममा केसीले केपी ओलीको विकल्प लोककतन्त्र भएको बताउँदै उनले लोकतन्त्रको विकल्प नेपाली कांग्रेस भएको उल्लेख गरे । उनले कांग्रेसले देशमा ३ ठूला संघर्ष गरेको बताउँदै अब कम्युनिष्टविरुद्ध चौथो संघर्ष गर्न कांग्रेस कार्यककर्ता तयार रहने निर्देशन दिए ।

‘लोकतन्त्रतको जामा ओढेर निरंकुश शासन चलाइएको छ’ केसीले भने ‘लोकतन्त्रमा विचार र विधि हुन्छ तर यो सरकारले पालना गरेन ।’ कांग्रेस कत्र्तव्यबाट कहिले नचुक्ने भन्दै उनले सन्तानका लागि लोकतन्त्र जोगाउने दायित्व कांग्रेसको काँधमा आएको धारणा राखे । विश्वव्यापीरुपमा हराएको कम्युनिष्टको प्रेतलाई नेपालबाट पनि हटाउन लाग्नु पर्ने उनले टिप्पणी गरे ।

सर्वसत्तावाद कम्युनिष्टविरुद्ध आजको सभा कास्टिङमात्र भएको भन्दै केसीले अब पुरै दृश्य हेर्न सरकारलाई तयार रहनसमेत चुनौती दिए । ओम्नी, न्यारोबडी, वाइडबडी, ७० करोडजस्ता भ्रष्टाचारको श्रृंखला रचेको भन्दै उनले सरकारलाई अपराधीको संज्ञा दिए ।

सम्बोधनकै क्रममा उनले कांग्रेस कमजोर हुन नहुने बताउँदै पार्टी एकताकालागि जिम्मेवार हुन आग्रह गरे । उनले भने, ‘कांग्रेस कमजोर भए लोकतन्त्रसँगै देश नै कमजोर हुन्छ ।’ दमौली घटनाबाट कांग्रेस ब्युँझिएको भन्दै उनले कम्युनिष्टलाई ‘ओरालो लागेको मृग’ भनि टिप्पणी गरे ।

गत मंसिर १७ गते तनहुँको व्यासमा बुल्दी खोलाको पुल उद्घाटन गर्ने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रशासनले बल प्रयोग गरेपछि कांग्रेसले देशव्यापीरुपमा प्रदर्शनको तयारी गरेको हो । यसअघि कास्की कांग्रेसले विपिचोकबाट ¥यालीको आयोजना गरेको थियो ।

कमेन्टहरु
Loading...