कर्णाली । नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए ।
९ महिनापछि खोलिएका विद्यालय ३ सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना संक्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन् । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ शिक्षकमा आज कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द हुने अवस्था आएको हो । कोरोनाको पिसीआर रिपोर्टअनुसार आज एक विद्यालयका ११ सहित सुर्खेतमा १७ शिक्षकमा कोरोना संक्रमण देखिँदा विद्यालय बन्द हुने क्रममा गएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिएका छन् ।
उनका अनुसार आज आएको रिपोर्टमा जिल्लास्थित १७ शिक्षकलाई लक्षणसहितको संक्रमण देखिएको छ । उनीहरु होम आइसोलेसनमा छन् र अवस्था सामान्य नै छ । ४ विद्यार्थीमा समेत कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन् ।
कोरोना संक्रमण पुष्टि भएका शिक्षकमध्ये सुर्खेत पञ्चपुरी नगरपालिकाको सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटेका ११ शिक्षक रहेको उक्त नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले बताए । त्यस्तै सोही नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरका २ जना शिक्षकलाई पनि संक्रमण देखिएको छ ।
२ वटा विद्यालयका ३९ शिक्षकको पिसीआर परीक्षण गर्दा १३ शिक्षकको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएका छन् । उनका अनुसार कोरोना संक्रमण देखिएका शिक्षकको लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएपछि उनीहरुको पिीसआर परीक्षण गरिएको थियो । त्यसैगरी गुर्भाकोट नगरपालिका सुर्खेतको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २ जना र जनसेवा आधारभूत विद्यालयका १ जना शिक्षकमा पनि कोरोना भाइरस संक्रमण देखिएको नगरपालिकाका नगर शिक्षा प्रमुख पदम विकले जानकारी दिएका छन् । शिक्षकमा कोरोना देखिएकाले विद्यालय बन्द गरिएको नगर शिक्षा प्रमुख विकले बताए ।
पञ्चपुरी नगरपालिकाले शिक्षकमा कोरोना संक्रमण नेगेटिभ नआउञ्जेलसम्मका लागि १ साता बन्द विद्यालय बन्द हुने बताएको छ । संक्रमित शिक्षकको कन्ट्याक्ट ट्रेसिङ गरेर रिपोर्ट आएपछि विद्यालय खोल्ने वा नखोल्ने पछि निर्णय गरिने कोरोना प्रभावित नगरपालिकाले जानकारी दिएका छन् । १ महिनाअघि हुम्ला नाम्खा र ताजाकोट गाउँपालिकाका विद्यालयमा शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण देखिँदा अहिले हुम्लाका विद्यालय बन्द भएको र माघ १५ पछि मात्र खोल्ने शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाका प्रमुख विष्णुबहादुर शाहीले जानकारी दिएका छन् ।
यता सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले १७ शिक्षक, ५ स्वास्थ्यकर्मी र ४ विद्यार्थीसहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । ४४ थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ६ पुगेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिएका छन् । उनका अनुसार आजै २५ जना कोरोना संक्रमण जितेर घर फर्केका छन् । यससँगै कोरोना जितेर घर फर्कनेको संख्या कर्णालीमा ६ हजार ६ सय ३२ पुगेको छ । ३ सय १३ संक्रमित आइसोलेसनमा रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । रासस