लमजुङ । लमजुङमा यस वर्ष ४४ हजार ४ सय २५ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कूल ४४ हजार ३ सय ५ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष १ सय २० मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।
लमजुङमा यस वर्ष १४ हजार २ सय ८० हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएको थियो । १४ हजार २ सय ८० हेक्टर क्षेत्रफल जमिनमा बर्खे धान लगाइएकोमा ४४ हजार ४ सय २५ मेट्रिकटन धान उत्पादन भएको हो ।
अघिल्लो वर्षहरुमा भन्दा यस वर्ष धान रोप्ने समयमा पर्याप्त पानी परेपनि गतसालको तुलनामा यसवर्ष धान उत्पादनमा खासै असर नपरेको कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । यसपर्ष क्षेत्रफल र उत्पादन दुवै बढेपनि धान फुलखेल्ने बेलामा परेको पानीले धान खेतीलाई फाइदा नगरी धान भुस्सिने समस्या आएकाले धान उत्पादन सोचे जति हुन नपाएको रेग्मीको भनाई छ । धान लगाइसकेपछि परेको पानी र सिँचाइको सविधा भएका ठाउँहरुमा भने धान उत्पादन राम्रो भएको उनले बताए ।
लमजुङका किसानहरुले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सुख्या ३,सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र, सुधा संकर,लोकनाथ, गोरखनाथ, यूएस ३ सय १२, मकवानपुर, मनसुली लगायतको हाइब्रिड जातको धान लगाएकाले पनि उत्पादनमा कमी नआएको उनले बताए ।
ज्ञान केन्द्रका अनुसार जिल्लामा हालसम्म ८५ प्रतिशत भन्दा बढी धान भित्र्याइसकिएको छ भने बाँकी कुनै कुनै ठाउँमा कुनिउ लगाएर राखिएको छ । उन्नत तथा हाइब्रिड जातको धानको बिउ रोप्दा दोब्वर उत्पादन हुने भएकाले जिल्लाका धमिलिकुवा, भोर्लेटार, रम्घा, राइनासटार, सुन्दरबजार, भोटेओडारका लयायत अधिकांस कृषकहरुले उन्नत तथा हाइब्रिड जातका धानहरु रोपेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।