शुक्लागण्डकीको वडाभरि आलुखेती

तनहुँ संवादाता

शुक्लागण्डकी नगरपालिकाको ८ नम्वर वडाका विभिन्न ठाउँमा आलुखेती गरिएको छ ।

वडालाई आलुमा आत्मनिर्भर बनाउने उद्धेश्यले कृषकलाई ५० प्रतिसत अनुदानमा आलुको वीउ वितरण गरेपछि वडाभरि आलुखेती गर्न लागिएको हो । ‘एक वडा एक उत्पादन’ कार्यक्रम संचालन गरेको उक्त वडाले आलुखेतीलाई प्राथमिकतामा राख्न स्थानीयलाई अनुदानमा आलु उपलव्ध गराएको हो ।

लालिम, मलायफाँट, ढोरफिर्दी दहरेफाँटलगायतका ठाउँमा स्थानीयले अहिले व्यवसायिक आलु खेती गर्दै आएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए ।

वडाको यी ठाउँहरु आलुको लागि उपयुक्त मानिन्छ । त्यसैले यहाँका स्थानीयलाई आलुखेतीतर्फ आकर्षित गर्न अनुदानमा वीउ उपलव्ध गराएका छौं । गतवर्ष डेढ सय स्थानीयले आलु रोपेका थिए । उनीहरुले चार लाख किलो आलु उत्पादन गरे । आलुबाट राम्रै आम्दानी लिए । ‘आलुबाट राम्रै आम्दानी हुने भएपछि यो वर्ष आलुखेती गर्ने करिव ५० स्थानीय बढेका छन् । उनीहरुले जताततै आलु लगाएका छन् । यो वर्ष झन बढी उत्पादन हुनेछ,’ उनले भने ।

त्यस क्षेत्रका करिव दुई सय कृषकले यो वर्ष आलुको वीउ लगाएका छन् । उत्पादित आलुको व्यवस्थापनका लागि वडा कार्यालयले कोल्डस्टोर राख्ने तयारी गरेको छ ।

संघीय सरकारबाट प्राप्त भएको एक करोड, नगरपालिकाबाट एक करोड ५० लाख र स्थानीय उपभोक्ताबाट एक करोड गरी तीन करोड रुपैयाँबाट कोल्डस्टोर खरिद गरी राख्ने तयारी रहेको रेग्मीले बताए ।

गतवर्ष आलुबाट राम्रै आम्दानी भएको स्थानीय दिपेन्द्र सेनले बताए । वडाको विभिन्न ठाउँमा गरी चार सय रोपनी क्षेत्रफलमा आलु लगाइएको छ । निलो आलु ११ हजार पाँच सय किलो र जनकदेव आलु १८ हजार पाँच सय गरी कुल ३० हजार किलो आलु वडाका विभिन्न ठाउँमा लगाईएको छ । स्थानीयलाई व्यवसायतर्फ आकर्षित गर्न र आलुमा आत्मनिर्भर बनाउन वडा कार्यालयले ५० प्रतिसत अनुदानमा आलुको वीउ उपलव्ध गराएको हो ।

कमेन्टहरु
Loading...