‘नेकपा विभाजन हुदैन, झन् बलियो भएर अघि बढ्छ’ : प्रमुख सचेतक अधिकारी

गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक मायानाथ अधिकारीले नेकपा बलियो र एकताबद्ध भएर अघि बढ्ने बताएका छन् ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ नेकपा वडा कमिटीद्वारा वडाका पार्टी सचिव यमबहादुर बोहोराको १३औँ पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा उनले पार्टीमा अहिले छलफल चलिरहेकाले यो छलफलबाट पार्टी विभाजन नुहने, झन् बलियो भएर अघि बढ्ने बताए ।

नेकपा बलियो र एकजुट भएमा मात्र देश विकास हुने बताउँदै उनले पार्टीका शीर्ष नेताहरुलाई एकजुट भएर अघि बढ्नलाई समेत आग्रह गर्नुभयो । नेकपा बलियो बनाउनका लागि महाधिवेशनमा समेत जानुपर्ने उहाँको भनाइ छ ।

उनले भने, “पार्टीका वडासचिवको निधनले परिवार शोकमा रहे पनि शोकलाई शक्तिमा बदलेर जानुपर्छ ।”

गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा लमजुङका सचिव धनञ्जय दवाडीले पार्टीले कर्मठ कार्यकर्ता गुमाएको र स्थानीय कमिटीलाई अतुलनीय क्षति पुगेको बताए ।

उनले भने, “शोकलाई शक्तिमा बदल्दै यमबहादुरका छोराछोरीले टुहुरा महसुस गर्नु नपर्ने र अभिभावका रूपमा नेकपा रहेको छ ।”

श्रद्धाञ्जलि कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विक, सोही वडाका वडाध्यक्ष प्रेमबहादुर बस्नेत, नेकपाका कार्यकर्ता तथा स्थानीयवासीले फूल माला चढाएर श्रद्धाञ्जलि दिँदै बोहोराको निधनले गाउँलाई नै स्तब्ध बनाएको बताएका थिए ।

नेकपा वडा कमिटीका सचिव ५७ वर्षीय बोहोराको यही मङ्सिर ८ गते हृदयघातका कारण अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

कमेन्टहरु
Loading...