दिपक के श्रेष्ठ
बेलायतका कोलिन फिलिप स्मिथलाई पोखरामा माया गरेर ‘पुतली बाजे’ भनिन्छ । नेपालमा अध्यापन र पुतली संकलककारुपमा ५५ वर्ष बिताएपछि बाजेले अघिल्लो वर्ष नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता पाए । नागरिकतामा बाजेको जन्ममिति वि.संं. १९९३–०८–०९ उल्लेख छ ।
उनै बाजेलाई भेट्न पोखरा महानगरपालिका वडा १८ स्थित सराङकोटतर्फ उक्लदै गर्दा गुम्बा तलै सडक छेउ टुसुक्क बसेको भेटियो । उनको साथमा थियो लट्ठी र झोला, जो उनको साथमा सँधै हुन्छ ।
पोखरामा केही किनमेल गरेर उनी उकालो चढ्दै रहेछन् । उमेरले ८४ लागेका बाजेलाई त्यही झोला पनि अब गह्रुँगो लाग्न थालेको रहेछ । शरिरमा थकान बढेपछि उनी सुस्ताउन सडक छेउमै बसेका रहेछन् । बाजेसँग गफिन मन लागेको बताएपछि छेवैको घरमा एकछिन बस्ने निधो भयो । खँदिलो झोला देखेर ‘के छ ?’ भनि जिज्ञासा राख्दा उनले डाइजेस्टिभ बिस्कुट र अन्य सरसामान देखाए । पावरवाला मोटो चस्मा भित्रबाट चहकिला आँखाले हेर्दै भने ‘यो नेपाल सरकारको पैसा हो ।’
बाजेको अनुसार उनले गत साउन, भदौ र असोजको एकमुष्ट ९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेका रहेछन् । उक्त भत्ता वडा नम्बर १८ ले उनको खातामा हालिदिएको रहेछ । अझै ४ महिनाको भत्ता लिन बाँकी रहेको पनि उनले सुनाए । नेपाल सरकारको नियमानुसार ७० वर्षमाथिका जेष्ठ नागरिकलाई मासिक ३ हजार रुपैयाँ भत्ता तोकिएको छ ।
कोलिन २९ वर्षकै उमेरमा नेपाल आएका हुन् । सुरुवाति दिनमा उनले अध्यापन गरे । कुराकानीकैक्रममा भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र डाक्टर उपेन्द्र देवकोटा –दिवंगत)लाई पढाएको स्मरण गरे । त्यसपछि पुतली संकलन उनको रुचि बन्यो । बेलायतमै छँदा पुतलीका शौखिन उनलाई उतै ‘बटराफ्लाई ग्य्राण्डड्याड’ भनिदो रहेछ । उनका अनुसार नेपालमा ६ सय ५० बढी प्रजातीका पुतली पाइन्छन् ।
बाजेलाई यहाँ बस्दा सबैभन्दा बढ्ता खुशी गत वर्ष नागरिकता पाएपछि र यस वर्ष भत्ता बुझेपछि लागेको रहेछ । नागरिकता नहुँदा सराङकोटको ग्यारजातीमा बनाएको सानो घर अब आफ्नै नाममा हुने भएपछि उनी थप खुशी देखिए । त्यसो त नेपालीले गरेको माया देखेर उनी हरपल खुशी नै देखिन्छन् । यसअघि काठमाण्डौंमा नागरिकता पाउन दिएको आवेदन असफल भएको थियो ।
सामान्य जीवनशैलीबीच रम्न जानेका बाजेले नेपालमा पुतलीसम्बन्धी अनुसन्धानमै समय बिताए । बल र उमेरमा डाँडाकाँडा डुलिहिड्ने बाजेको ज्यान यो उमेरमा पनि पोखरा आउजाउ गरिरहन्छ । तर पहिलेजस्तो तुजुक छैन । प्रायः सहयोगीसँग हिड्छन् । लट्ठीको सहारामा आफुलाई बिसाउँदै हिड्नु पर्ने भएको छ । पुतली संकलन गर्न छाडिसके । धेरथोर पढाइमा समय काट्छन् ।
बेलायतमा आफ्नो अब कोहि पनि नभएको सुनाउँदै बाजेले नेपालीको माया नै सबथोक रहेको सुनाए । छोटो विश्रामपछि शरिरमा जोश भरिएर होला उनले लट्ठी र झोला सम्हाले । र, उठ्दै भने ‘अब तिमी तल र म माथि जाने ।’ बाजेको यो वाक्य केही दार्शनिकपाराको लाग्यो । ‘तपाइलाई लामो आयूको कामना’ भन्दै म ओराले झरे ।