इन्टरनेटमा अश्लील तस्बिर राखिदिन्छु भन्दै नगद असुल्ने राम र मनिषा पक्राउ

 दिपक के श्रेष्ठ

बाराकी एक महिलालाई अश्लील तस्बिर इन्टरनेटमा राख्ने धम्की दिँदै पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी सीतापुरका ३१ वर्षीय रामदेव साह र इटहरी ४ की २३ वर्षीया मनिषा गिरी रहेका छन् । उनीहरुले सिमरा उपमहानगरपालिका २ की एक महिलालाई उनको तस्बिर सामाजिक सञ्जालमा राखेर बदनाम गरिदिने धम्की दिँदै नगद माग गरेका थिए ।

बाराम्बार डर, त्रास र धम्कीपछि उक्त महिलाले उनीहरुलाई आइएमइमार्फत ३० हजार रुपैयाँ ट्रान्सफर गरिदिएकी थिइन् । रकम ट्रान्सफर गरिदिएपछि उनले प्रहरीलाई जानकारी दिएकी थिइन् ।

त्यसलगत्तै राम र मनिषाको खोजीमा जुटेको प्रहरीले इटहरीको आइएमइबाट पैसा झिक्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिप्रका बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले गन्थनलाई बताए ।

हाल उनीहरुबारे थप अनुसन्धान गरी अदालतमा पेश गर्ने तयारी भइरहेको प्रनाउ मिश्रले जानकारी दिए ।

कमेन्टहरु
Loading...