हुम्ला विमानस्थलको क्वाटरमा आगलागी हुँदा भवनमा पूर्ण क्षति

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा विद्युत सर्ट आगलागी हुँदा भवनमा पूर्ण क्षति भएको छ । आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको थियो ।

कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य छ वटा कोठा, दुई वटा शौचालय र एउटा बरण्डा भएको भवन पुर्ण रुपमा काम नलाग्ने भएको छ । आगलागी सुरु भएको कोठामा कार्यालयका कागजात, एसि, सोलार, ब्याट्री पनि नष्ट भएको छ । बाँकी रहेका कोठाको झ्याल ढोका पनि आगो नियन्त्रण गर्न फोडिएको छ ।

भवनमा पचास प्रतिशत क्षति पुगेको छ । आगलागीबाट अन्य कर्मचारी कसैलाई केही नभए पनि एक जना कार्यालय सहयोगी हातमा चोट लागेको छ ।

आगलागी नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बजारवासी, सिमकोट गाउँपालिका वडा नम्बर ५ र ६ का बासिन्दा पुगेका थिए । सिमकोट बजारमा प्रहरीले माईकिङ गरेर सर्वसाधारणलाई आगो नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको थियो ।

बिहान ४ बजेदेखि लागेको आगो बिहान ६ बज्दासम्म नियन्त्रणमा आउन सकेको थिएन । आगोलाई करिब तीन घण्टाको प्रयास पछि नियन्त्रणमा लिईएको थियो ।

कमेन्टहरु
Loading...