काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । लगातार उकालो लागेको नेप्से सोमबार झण्डै २९ अङ्कले वृद्धि हुँदा करिब ९ अर्बको कारोबार भएको छ ।
आइतबार झण्डै ७५ अङ्कले बढेको नेप्से सोमबार २८.७९ विन्दुले वृद्धि भई एक हजार ९९७.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६३ विन्दुले बढेर ३८५.५६ मा पुगेको छ । कूल १९८ कम्पनीको दुई करोड ५१ लाख ९१ हजार ३१९ कित्ता शेयर ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ मूल्यमा खरिद बिक्री भए ।
बोर्डका अनुसार, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ ।
बैंकिङ ७.३८, विकास बैंक ४८.१४, वित्त ५.४१ र सामूहिक लगानी कोष ०.१३ विन्दुले घटेको छ । यस्तै व्यापार १५१.०७, होटल ४.९६, जलविद्युत् ८९.२३, निर्जीबन बीमा १९३.०४, उत्पादन ७३.६३, अन्य ४०.२८, लघुवित्त ३७.६ र जीवन बीमा ८२३.३६ विन्दुले उकालो लागेको छ ।
कारोबार भएका कम्पनीमध्ये आज नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३८ करोड ४८ लाख ८६ हजार ७७२ बराबरको कारोबार भएको छ ।