गन्थन डेस्क
यही डिसेम्बर ४ मा भारतको महाराष्ट्रमा हुने वल्र्ड पावरलिफ्टिङ च्याम्पियनशीपमा भाग लिन ५ जना खेलाडी सोमबार प्रस्थान गरेका छन् । जसमध्ये पोखराका २ र भक्तपुर, स्याङजा र सुर्खेतका १–१ जना रहेका छन् ।
च्यम्पियनशीपमा पोखराका सुजन आले र आशीष आलेमगर रहेका छन् । त्यस्तै, स्याङजाका हसन गुरुङ, भक्तपुरका राजेश सुवाल र सुर्खेतकी श्रुती कार्की रहेकी छिन् । जसमध्ये सुवालबाहेक ४ खेलाडीलाई जिल्ला खेलकुद विकास समिति कास्कीले बिदाई गरेको छ ।
खेलाडीलाई बिदाई गर्दै समितिका प्रमुख प्रकाश बरालले सहभागीलाई देश सम्झेर खेल्न आग्रह गर्दै जीतको शुभकामना दिए । उनले भने ‘कोभिड कहरले अभ्यासमा केही समस्या परे पनि यसको असर विश्वमा नै परेकाले मानसिकरुपमा सबल हुनुहोला ।’
यसैगरी, कास्की बडिबिल्डिङ एण्ड फिटनेश एशोसियसनका अध्यक्ष राजुकुमार थापाले भारतमा हुन लागेको प्रतियोगिता अवसर र चुनौति दुबै भएको बताउँदै खेलमार्पmत देशको नाम उँचो राख्न शुभकामना दिए । ‘कोभिड कहरकाबीच पनि अवसर आएको छ, यसको सदुपयोग गर्न आग्रह गर्दछु’ थापाले भने ‘यही प्रतियोगिताबाट अब पावरलिफ्टिङ क्षेत्र केही चलायमान हुने भएको छ ।’
त्यस्तै, एशियन पावरलिफ्टिङ फेडेरेशनका भाइस प्रेसिडेन्ट जीवन गिरीले यस प्रतियोगिताले नेपालमा पनि सम्भावनाको ढोका खोल्दै यहाँका खेलाडीलाई अवसर प्रदान गर्ने उल्लेख गरे । नेपाली खेलाडीहरु प्राकृतिकरुपमै बलिष्ठ हुने भन्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर यसबारे नयाँ तौरतरिका सिकेर आगामी दिनमा यस खेलबाट लाभ लिन सक्ने बताए ।
सोही अवसरमा एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, कास्की बडिबिल्डिङ एण्ड फिटनेश एशोसियसनका सचिव नवीन आलेमगर, रानीपौवा स्पोर्टस सेन्टरका प्रोपाइटर दीपक बाँस्तोला, पावर जिम अमरसिंहचोकका विश्व थापालगायतले खेलाडीहरुलाई खादा तथा अबीर लगाइ बिदाइ गरे ।
महाराष्ट्रको अमरावतीमा हुने ५ दिने प्रतियोगितामा खेलाडीसँगै अफिसियल एशियन पावरलिफ्टिङ फेडेरेशनका भाइस प्रेसिडेन्ट जीवन गिरी र वरिष्ठ खेलाडी केदार स्थापितसमेत रहेका छन् ।