पोखरा । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनाको कास्की खण्डमा कालोपत्रे सुरु गरिएको छ ।
कास्की खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ हेमजाको याम्दीदेखि माछापुच्छ«े गाउँपालिका–७ को घट्टेखोला खण्डमा निर्माण कम्पनीले सुइखेतबाट कालोपत्रेको काम आरम्भ गरेको हो ।
मध्यपहाडी राजमार्ग साविकको पोखरा–बागलुङ राजमार्ग हुँदै जाने भएपछि २ लेनको पिच सडक भत्काएर विस्तार सुरु गरिएपछि बर्खामा हिलो र हिउँदयाममा धुलोको समस्याबाट आजित बनेका हेमजावासी कालोपत्रेको काम सुरु भएसँगै खुसी भएका छन् । कालोपत्रे गर्न थालनीपछि हेमजावासी, माछापुच्छ«े गाउँपालिका र अन्नपूर्णका नागरिकसहित राजमार्ग भएर यात्रा गर्ने साविकको धौलागिरी अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका नागरिक प्रत्यक्ष लाभान्वित हुने छन् ।
कास्की खण्डअन्तर्गतको साढे ३७ किलोमिटर सडक ३ खण्डमा विभाजन गरी बोलपत्र आह्वान भएर २ अर्ब ९३ करोड ६६ लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो । याम्दीदेखि घट्टेखोलासम्मको १२ किमी सडकमा अहिले ‘अस्फाल्ट’ कंक्रिट प्रविधिबाट सडक कालोपत्रे गर्न सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिीनयर अनन्त बरालले बताए ।
हाल सुइखेतबाट कालोपत्रेको काम अघि बढाइएको छ । उनले भने, ‘यस खण्डमा विभिन्न कारणले काममा ढिलाइ हुँदा धेरै जनगुनासा आएका थिए । हामीले शनिबारदेखि सडक कालोपत्रे गर्न सुरु गरेपछि विस्तारै गुनासा कम हुँदै जानेछ । यही आर्थिक वर्षभित्रमा काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेका छौं ।’
सुइखेत क्षेत्रबाट अस्फाल्ट कालोपत्रेको काम सुरु भएसँगै तल्लो क्षेत्रमा सडक समथर बनाउन(बेस बिछ्याउने)काम समेत समानान्तररूपमा काम भइरहेको इञ्जिनीयर बरालले बताएका छन् । यस आयोजनाको काम गत भदौ समान्तभित्रमै सम्पन्न हुनुपर्ने हो । तर निर्माण कम्पनीको ढिलासुस्ती तथा खानेपानी र बिजुलीका पोल स्थानान्तरण लगायतका प्राविधिक समस्याले आयोजनामा ढिलाइ भएको बताइन्छ ।
निर्धारित समयभित्रमा यस खण्डमा काम नसकिएपछि निर्माण कम्पनीले म्याद थपका लागि सडक विभागसमक्ष आग्रह गरेको बताइन्छ । याम्दीदेखि सुइखेतसम्म स्वच्छन्द इलाइट जेभीले ९८ करोड ७९ लाख ६१ हजार ४ सय १५ तथा सुइखेतबाट घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले ९८ करोड १२ लाख ५० हजार ५ सय २९ लागतमा कामको जिम्मा पाएका थिए ।
३ वर्षमा सम्पन्न गर्ने गरी विसं २०७४ मा यस खण्डको निर्माण सम्झौता भएको थियो । यसैगरी घट्टेखोलाबाट कास्की पर्वत सीमा नयाँपुलसम्मको २५ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग ९६ करोड ७४ लाख ११ हजार १ सय ७ ठेक्का सम्झौता गरिएको थियो । यस खण्डमा भने सबै काम सकिएको र सडक हस्तान्तरण गर्न मात्र बाँकी रहेको मध्यपहाडी राजमार्ग आयोजनाले जनाएको छ ।
राजमार्ग छ लेन (३० मिटर) चौडाइ तथा ३ मिटरको डिभाइडर (मेडियन) तथा दायाँ बायाँ २/२ मिटरको नाला निर्माण हुनेछ । पहाडी भूगोलका कारण घट्टेखोलाबाट नयाँपुलसम्म भने दुई लेनको हुनेछ ।
याम्दीबाट घट्टेखोलासम्मको कामको जिम्मा पाएको निर्माण कम्पनी स्वच्छन्द इलाइट जेभीका निर्देशक राजु रानाभाटले विविधि कारणले काममा ढिलाइ भए पनि अब कालोपत्रेको काम निरन्तर अघि बढ्ने बताएका छन् । दैनिक २ सयदेखि २ सय ५० मिटर हाराहारीमा अस्फाल्ट कालोपत्रे भइरहेको बताउँदै उनले भने, ‘केही दिनपछि मौसमले काम १०/१५ दिन रोकियो भने रोकिएला नत्र हामी निरन्तर काम गर्छौं र चैत महिनाभित्रमा सम्पन्न गर्छौं ।’ आयोजनामा हाल दैनिक २ सय मजदुरले काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।
सरकारले मध्यपहाडी लोकमार्गको काम विसं २०६५/०६६ देखि सुरु गरेको हो । नेपाल–भारत सीमा पाँचथरको चियो भञ्ज्याङबाट सुरु भई पश्चिम पहाडी जिल्ला बैतडीको झुलाघाट (महाकाली नदी) सम्म गएर टुंगिने यस राजमार्ग १ हजार ८ सय ७९ किलोमिटर लामो छ । रासस