स्काउट गण्डकीको दीक्षान्त एवं सपथ ग्रहण

राजु गिरी 
पोखरा । नेपाल स्काउट गण्डकी प्रदेश तदर्थ समितिका संयोजक र सदस्यहरुलाई दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण गराईएको छ । यहि कात्तिक ६ गते गठन भएको समितिका सदस्यहरुलाई आज पोखरामा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले सपथ ग्रहण गराएकी हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले समाजसेवाका लागि भनेर खोलिएका विभिन्न संस्थाहरुमा ठुलो परिमाणमा व्यक्तिगत पैसा खर्च गरेर समाजसेवीको ट्याग लगाउने वातावरण देखिएको बताए । उनले भने– ‘त्यस्ता संस्थाहरुले काम नगरेको भनेको होईन तर काम भन्दा प्रचार धेरै गर्ने गर्छन् । सबै समाजसेवी संस्थाले प्रचार भन्दा समाजसेवालाई नै महत्वमा राख्नुपर्छ ।’

समाजमा सभ्यताको विकासका लागि, शान्ति स्थापनाका लागि स्काउट, रेडक्रसजस्ता संस्था आवश्यक रहेको उनको भनाई छ । ‘समाजसेवाका लागि रहेका संस्थाहरुलाई हामीले मागीखाने भाडो बनाएकाले झनझन विग्रदै गएको छ । समाजसेवाका लागि खोलिएका संस्था समाजसेवै गर्नेहो, मागीखाने भाडो बनाउनु हुदैन ।’ –मुख्यमन्त्री गुरुङले भने ।

त्यस्तै सामाजिक विकास मन्त्री नरदेवी पुनले देश अगाडी जानको निम्ती पहिलो सर्त स्वस्थ, दक्ष, अनुशासित र सकरात्मक चिन्तन भएको नागरिकको जरुरत रहेको बताईन् । यस्ता नागरिकको परिपुरण स्काउटले गर्ने अपेक्षा उनको छ ।

त्यसैगरि गण्डकी प्रदेशका सांसद् राजिव पहारीले संस्थाको जिम्मेवारी लिईसकेपछि आगामी दिनमा समाजलाई मैले के दिन सक्छु भन्ने विषयमा सोच्नु जरुरी रहेको बताए । उनले भने –‘मैले समाजलाई के योगदान दिन सक्छु ? भन्ने कुरालाई ख्याल राखेर अगाडी बढ्नुस् । युवाहरुलाई समाजप्रति कसरी उत्तरदायी बनाउन सकिन्छ भन्नेतर्फपनि लाग्न आग्रह गर्दछु ।’

त्यस्तै नेपाल स्काउट गण्डकी प्रदेशका संयोजक आशिर्वाद सुवेदीले विथितिविरुद्धको अभियानमा स्काउट अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने– ‘समाजमा रहेका विथितिविरुद्धको अभियानमा स्काउट लाग्नेछ । साथै हाम्रो यो अभियानमा गण्डकी प्रदेश सरकारले साथ दिनेमा विश्वस्त छु ।’ जिम्मेवारी पाईसकेपछि कुनै पनि हालतमा पुरा गर्ने र नयाँ ढंगबाट अगाडी बढ्ने प्रतिवद्धता समेत सुवेदीले व्यक्त गरे ।

नेपाल स्काउट तदर्थ समितिका केन्द्रीय संयोजक लोकराज भण्डारी, सदस्य शिवबहादुर भण्डारीलगाएतले सपथ ग्रहणपश्चात शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन केन्द्रीय समितिका महानिर्देशक रामप्रसाद भट्टराईले गरेका थिए ।

गण्डकी प्रदेशमा गठीत तदर्थ समितिको सदस्यमा कास्कीबाट शुसिला पराजुली, सागर पौडेल, साजन सुवेदी, अनिता राई, रमेश नेपाली, संदेश गुरुङ, स्याङजाबाट विष्णुप्रसाद पराजुली, सुबास मुल्ल, लमजुङबाट निश्चल पाण्डे, गोरखाबाट उपेन्द्र गिरी, राजन कट्टेल, बागलुङबाट हरिराम अधिकारी, म्याग्दीबाट इश्वरी सुवेदी र नवलपुरबाट भिम कडेल रहेका छन् ।

कमेन्टहरु
Loading...