बिरामी बोकेको पिकअप भ्यान त्रिशुलीमा खस्यो

चितवन । बिरामी बोकेको भ्यान त्रिशुलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । प्यूठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने पृथ्वीराजमार्गबाट तल त्रिशूली नदीमा खस्दा भ्यानमा रहेका चार जनामध्ये तीन जना बेपत्ता भएका हुन् ।

एक जना पौडेर बाहिर आएका छन् । लु १ च ९७३१ नम्बरको भ्यान बिहान साढे पाँच बजे नाग्दी खोला नजिकबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का घाइते छन् । बेपत्ता हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का, बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसी रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपीले जानकारी दिए ।

 

घाइते मुकुन्दले पानीमा पौडिएर बाहिर आएको प्रहरीलाई जानकारी दिएका छन् । उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको छ । पिकअप भ्यान पानीले डुबेर नदेखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

 

बेपत्ताहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको चितवनका प्रहरी प्रवक्ताले जानकारी दिए ।

कमेन्टहरु
Loading...