रिना थापा ।
पोखराको सिर्जनाचोकस्थित मेट्रोसिटी हस्पिटलमा कार्यरत चिकित्सक र नर्स गरी ७ जना कोरोना संक्रमित भएपछि त्यहाँका कर्मचारीले स्वास्थ्य सुरक्षा सामग्री नपाएको गुनासो गरेका छन् ।
अस्पतालले पिपिई पनि आवश्यक मात्रामा उपलब्ध नगराएको, मास्क र ग्लोब्ससमेत पर्याप्त नदिएको कर्मचारीको गुनासो छ । ‘नर्सलाई आवश्यक पिपिई छैन, बिना स्वास्थ्य सुरक्षा सामग्री काम गर्नुपरेको छ अस्पताललाई भन्दा सुन्दैन, उल्टै जागिर नै जाने जस्तो कुरा गर्छ’ एक कर्मचारीले सुनाए ।
त्यसो त अस्पतालका नर्सले समेत पिपिई लगाएको देखिदैन । वार्डमा खटिएका नर्सहरु बिना स्वास्थ्य साम्रागी नै बिरामीको सेवामा खटीएका छन् । तर हेल्थ डेस्कका कर्मचारी र सुरक्षा गार्डलाई भने सुरक्षासाम्रागी उपलब्ध गराईएको छ । त्यस्तै, उनीहरुले प्रयोग गरिरहेको एप्रोन पनि ‘प्रोपर’ पिपिई होइन ।
आवश्यक स्वास्थ्य सुरक्षा सामग्री बिना काम गर्दा कोरोना सर्ने खतरा बढी भएको त्यहाँका अर्का कर्मचारीले नाम नखुलाउने सर्तमा बताए । उनले भने, ‘बिरामीबाट भन्दा पनि उपचार गराउन आउने बिरामी हामीबाट संक्रमित बन्नुहुन्छ कि ? हामी त रिस्कमा छौँ, अन्य बिरामी समेत रिस्कमा पर्नुभयो ।’
अस्पतालका केही कर्मचारी कोरोना संक्रमण पुष्टि भएपश्चात निको भएर काममा फर्किसकेका छन् । त्यसबाहेक हाल एक कर्मचारीमा कोरोना पुष्टि भई होम आइसोलेसनमा छन् भने अन्य केही लक्षणसहित क्वारेन्टिनमा रहेका छन् ।
हुन त मेट्रोसिटी असपतालमा कोभिड बिरामीको उपचार हुँदैन । तर त्यहाँ अन्य रोगको उपचार गर्न जाने मानिसलाई कोरोना संक्रमण भईहाले तत्काल व्यवस्थापनको तयारीसमेत अस्पतालले गरेको छैन । नेपाल सरकारले भने हरेक निजी अस्पतालले कोरोना संक्रमितको उपचारका लागि बेड छुट्याउनु पर्ने बताएको छ ।
यता अस्पतालले भने यी सबै कुरा असत्य रहेको बताएको छ । अस्पतालका प्रशासन प्रमुख ज्ञानप्रसाद अर्यालले सबै कर्मचारीलाई आवश्यक सामग्री उपलब्ध गराएको दाबी गरे । अर्यालका अनुसार अहिले अस्पतालमा नर्सका लागि पिपिई अनिवार्य गरिएको छैन । ‘हामीले सबैलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छौँ । तर अहिले सबैलाई अनिवार्य नगरेको हुनाले नलगाएको देख्नु भएको हो । हामीबाट लापरबाही भएकै छैन’ उनले भने ।
त्यस्तै अस्पतालकी मेट्रोन सरिता गुरुङले पनि नर्सहरु कुनैपनि प्रेसर र असुरक्षामा काम गर्न नपरेको दाबी गरेकी छन् । अस्पतालले सुरक्षासावधानी अपनाउँदै हरेक नर्सको काममा पिसिआर रिर्पोट नेगेटिभ अनिवार्य गरेको जनाएकी छिन् ।
त्यस्तै, अस्पतालले सामान्य ज्वरोका बिरामीसमेत उपचार गर्न नमानेका पाइएको छ । जसलाई अस्पताले पनि स्वीकारेको छ । बेड र पुर्वाधारको अभावमा अस्पताललाई उपचार गर्न कठिन भएको हो । केही अघि एक नर्सले आफ्नो कोरोना परीक्षणार्थ स्वाब दिएपछि रिपोर्ट आउनु अगावै काममा बोलाइएको भन्दै गुनासो गरेकी थिइन् । तर उनले आफु काममा नगई होम आइशोलेसनम बसेको जनाएकी थिइन् ।
हाल अस्पतालमा ४ आईसियु र २ भेन्टिलेटर छन् । साथै अस्पतालमा ५० बिरामी राख्ने क्षमताको बेड छ । अस्पतालमा सय बढी कर्मचारीमध्ये विभिन्न वार्डमा ५० जना नर्स कार्यरत छन् ।