पोखरा । हिन्दूहरुको दोस्रो महानपर्व तिहार सकिएपछि बजारमा चहलपहल घटेको छ । कोरोना भाइरस महामारीबीच तिहारको किनमेल गर्नेहरुका कारण केही दिन उता पोखराको मुख्य बजार चिप्लेढुंगा, पृथ्वीचोक, महेन्द्रपुलमा भीडभाड बढेको थियो । तर, चाड मंसिर १ गते सकिएसँगै मानिसहरुको चहलपहल घटेको हो ।
सरकारले नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएसँगै गएको ११ चैतमा बन्दाबन्दी घोषणा गरेको थियो । त्यसपछि सबै पसल बन्द भए । सरकारले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय खोल्ने अनुमति प्रदन गरेसँगै विस्तारै पसल खुल्न थालेका थिए ।
यद्यपी बजार मान्छेमा फैलिएको त्रासले चहलपहल भएको थिएन । तर दसैंको केही समयअघिदेखि बजार तथा पसलमा ह्वातै बिना कुनै स्वास्थ्य मापदण्ड चहलपहल बढेको थियो ।
दसैंले बढाएको चहलपहल पर्व सकिए लगत्तै फेरि सुस्ताएको थियो । तर, तिहार सुरु भएपछि गतहप्तादेखि पोखराका मुख्यचोकदेखि सडकतिर किनमेल गर्नेहरुको निकै भीड थियो । खास गरेर फूल, माला र पूजाका सामग्री किन्नेहरुको भीड थियो ।
अहिले बजारको चहलपहल तिहार सकिएपछि सकिएको छ । यसवर्ष कोरोना महामारीका कारण सरकारले सुरक्षित रुपमा चाडपर्व मनाउन आग्रह गरेको थियो । कास्की जिल्लामा पनि कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले चाडपर्वको समयमा देउसी भैलो कार्यक्रममा रोक लगाएको थियो ।
तर बजारमा चहलपहल कम भएपनि एकादुई सामान किन्ने ग्राहकले स्वास्थ्य मापदण्ड ख्याल गरेको पाइदैन । न पसल सञ्चालकले नै सचेत गराएको देखिन्छ । पोखराका बजारमा ग्राहकबीच व्यक्तिगत दूरी कायम गरिएको देखिन्न ।
कतिपय मानिस मास्क नलगाई बजार घुमेको भेटिन्छ । कतिपयले ठीक तरिकाले लगाएको पाइँदैन ।
तस्बिर : रिना थापा