राजु गिरी
पोखरामा केही दिनदेखि चाडबाडलाई लक्षित गरी सवारीसाधनको चेकिङलाई कडा गरिएको छ । विशेषतः तिहारमा मापसेकाकारण सवारी दुर्घटना बढ्ने संभावनालाई मध्यनजर गर्दै चेकजाँच कडा गरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख सन्तोष रोकाले जानकारी दिए ।
जिल्ला ट्राफिक कार्यालयका प्रहरीलाई कोरोना संक्रमण देखिएपछि केही समय सवारीसाधन चेकजाँच रोकिएपनि अव निरन्तर रहने उनको भनाई छ । ‘चाडबाडमा मादकपदार्थ सेवन गरि सवारी चलाउने कार्य बढ्ने हुँदा संभावित दुर्घटना न्युनीकरणका लागि अहिले चेकजाँचलाई कडा गरिएको छ’ प्रमुख रोकाले भने ‘हाम्रो अनुरोध नै आफु सुरक्षित रहि सवारी चलाईदिनुस् भन्ने हो । कोभिडको महामारी तथा यो चाडबाडमा कसैलाई दुःख दिनु हाम्रो नियत होईन ।’
चेकजाँचमा मादक पदार्थ सेवन गरि चलाउने दैनिक करिब १० देखि १५ जना चालकलाई कारवाही गरिएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । त्यस्तै, अहिलेको चाडबाडमा बिना लाईसेन्स सवारी साधन चलाउनेको संख्या पनि धेरै भेटिएको भन्दै उनीहरुलाई सम्झाई बुझाई यसो नगर्न भनिएको र पुनः यस्तो घटना दोहोरिए कार्वाही गरिने रोकाले जनाए ।
कोभिडकाबीच चेकिङ केही खुकुलो गर्दा चालकबाट लापरवाही भएको भन्दै ट्राफिक प्रहरीले हाल कडाई गरेको छ ।