कोरोना संक्रमणको मारमा सबैभन्दा बढी वयोवृद्ध परेका छन् । उनीहरु जब संक्रमित हुन्छन् तब अस्पताल पु¥याइन्छ । अस्पतालको आइशोलेसनमा सबैभन्दा खड्कने कुरो हो आफन्त ।
विश्वव्यापीरुपमा कोरोना कहर साझा भएको छ । संक्रमितलाई हेर्न र छुन बन्देज गरिएको बेला इटलीमा केही नयाँ र फरक व्यवस्था गरिएको हो । मेसोमा इटालीबाट सार्वजनिक भएको तस्बिरले पीडा त देखाएको छ नै मानवतालाई पनि उजागर गरेको छ । यो तस्बिर इटलीको हो ।
क्यास्टलफ्रेन्को भेनेटो नर्सिङ होमले संक्रमितलाई आफन्त आएर अंकमाल गर्न सकुन् भनेर ‘हग रुम’ (अंकमाल कक्ष) बनाइदिएको छ ।
सोही कक्षमा आफन्तले संक्रमितलाई अंकमाल गरेको दृश्यले विश्वलाई करुणामय बनाइदिएको छ ।
कक्ष निर्माण गर्दा संक्रमितलाई बाँच्ने हौसला मिलोस् र आफन्तलाई सुरक्षित राख्न सकियोस् भनेर ध्यान दिइएको छ । नर्सिङ होममा गरिएको अंकमालको दृश्यउपर धेरैले आफु भावुक भएको, आँशु झरेकोजस्ता कमेन्ट गरेका छन् । यद्यपि, केहिले भने यसप्रति नकारात्मक धारणा राखेका छन् ।
संक्रमितसँग भेट्नु पूर्व आफन्तलाई नर्सिङ होमले निर्मलीकरण गरिदिनेछ । त्यसपश्चात् पारदर्शी प्लाष्टिकको एप्रोन लगाई संक्रमितलाई अंकमाल गर्न सकिन्छ ।
चिनियाँ न्यूज सिजिटिएनको सहयोगमा