चाडबाड यताको, सामान र व्यापारी उताको

 

रिना थापा  

तिहार सुरु भइसक्यो । कुकर तिहारकै दिनदेखि घरघरमा झिलिमिली सुरु हुन्छ । किनमेलको हतारो ह्वात्तै बढ्छ । लक्ष्मीपूजा र भाइटीका तिहारको प्रमुख दिन हो । किनमेल र खर्चको हिसाबकिताब गर्ने हो भने यी दुई दिनकोलागि दशैंभन्दा पनि बढी खर्च हुने अनुमान छ ।

 

पोखराको मुख्य बजारमा तिहारलक्षित सामग्री जताततै छन् । दियो, पाला, मिठाई, भाइमसला, रंगोली आदि तिहारमा प्रयोग हुने मुख्य सामग्री हुन् । नेपालीको चाड मानिने तिहारमा आवश्यक पर्ने सरसामान भने सबै भारतबाट आयात हुन्छन् । सामानमात्रै भारतबाट आए त ठिकै हो तर व्यापारीसमेत उतैबाट आएपछि पोखराको गुल्जार बजारबाट उनीहरु करौंडौ कुम्ल्याएर फर्कदैछन् ।

तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरुप दिने विशेष मसला परिकारको निकै खपत हुन्छ । तर प्रायः सबै साम्रागी उतै अर्थात् भारतबाटै आयात गरिन्छ । उपहारमा प्रयोग गरिने कपडाको व्यापारदेखि झिलिमिलि बत्ती र पालाको व्यापार राम्रो हुने गरेको छ । बजारमा तिहारलक्षित सामान बढी खपत हुने गरेकाले भारतबाटै सामान बोकेर व्यापारी नेपाल आइपुग्छन् । व्यापारकै लागि भनेर एक हप्ताअघि पाला र भाइमसला बोकेर पोकास मण्डल पोखरा आइपुगेका छन् ।

मन्डलले भारतीय भाषामै भने, ‘अन्य वर्ष जस्तो यसवर्ष पनि आएको, तर यो वर्ष त्यति व्यापार छैन ।’ नेपाललाई कर्मभूमि बनाएका भारतीय व्यापारीले चाडवाडको समय मण्डल जस्तै थुप्रै व्यापारीलाई सामानसहित नेपाल बोलाउछन् । मुख्यचोकको फुटपाथमा हप्ता–दश दिनसम्म व्यापारमा लगाएर भारत फर्काउछन् । मण्डल भन्छन्, ‘म एकहप्ता अगाडि आएको, पर्सि फर्कन्छु, साहुले फेरि बोलाएपछि आउँछु ।’

करिब हप्ता दिनको पोखरा बसाईमा उनको कमाई २५ हजार बढी हुन्छ । उनले भारतबाट ल्याएका पाला, दियो नेपालमै बनेको भन्दा महंगो दाममा बेचिरहेका छन् । फरक यत्ति हो, उताबाट ल्याइएको यस्ता सामग्री कलात्मक हुन्छन्, जो ग्राहकको रोजाइमा पर्छ । मण्डल केवल चोकमा व्यापार गर्न बसेका एक पात्र हुन् । उनी जस्तै चाडवाडलाई लक्षित गरी पोखरा आइपुग्ने भारतीय व्यापारीको संख्या ठ्याक्कै कति छ यकिन छैन ।

त्यस्तै पछिल्लो समय तिहार मनाउने तरिकामा भारतीय शैली पनि मिसिएको छ । रंगोली बनाउने रंगमात्र पनि बजारमा पछिल्लो समय खपत हुँदै आएको छ । कोलकाताबाट रंग र भाइमसला बोकेर आएका जगन्नाथ पटेल व्यापार ठिकै भएको बताउछन् । उनी पनि मण्डल जस्तै हप्ता दशदिनका लागि नेपाल आएका हुन् । पटेलले व्यापारका लागि यसवर्ष ५० हजार बढीको सामान ल्याएका छन् । जसमध्ये सबैभन्दा बढी ३० हजार बढीको रंग मात्र छ ।

उनले एकहप्ताको बसाइमा आफनो लगानी बराबरको नाफा कमाउँछन् । पोखराको बजारमा पछिल्लो समय भारतबाट आयातीत लक्ष्मीको पोष्टर, रंगोलीको साँचो, देवी देउताको मुर्तिलगायतको बिक्री उल्लेख्य मात्रामा हुँदै आएको छ ।

त्यसो त तराइबाट पनि पोखरा आउने व्यापारी छन् । तर उनीहरुले ल्याउने सामग्री भने उतैको हो । कोरोना कहरबीच तिहारमा अघिल्ला वर्षजस्तो ब्यापार नभएको विराटनगरदेखि आएका पंकजकुमार दास बताउँछन् । उनले अघिल्लो वर्षभन्दा यस वर्ष कम सामान पोखरा ल्याए । करीब ३५ हजारको सामान ल्याएका दासले सबै सामान बेच्न सके भने सोही बराबरको नाफा हुने बताउँछन् । उनले ल्याएका सामान पनि उतैका हु्न् । उनले भने,‘सामानहरु सबै पारिबाट खुल्ला आउँछ, अनि मैले प्याक गरेर ल्याएको हो । यो सामान नेपालमा बनाउनका लागि चाहिने सामान पनि उतैबाट ल्याउनुपर्छ ।’ उनका अनुसार सामान आफै बनाउनु भन्दा भारतबाट आयात गरेका सामान प्याकिङ गरेर बेच्दा फाइदा हुन्छ ।

यता भारतीय सामानले बजार पाइरहँदो नेपालमै बनेका पालालगायतका सामान गोदाममै थन्किएर बसेको छ । रानीपौवामा विगत २८ वर्षदेखि माटाजन्य सामग्री बिक्री गर्दै आएका तेजकृष्ण प्रजापतिले पछिल्लो समय पाला तथा माटाण्को सामान व्यापार नभएको बताउँछन् । उनले अघिल्लो वर्ष तिहारका लागि मात्र १ लाख रुपैयाँका पाला भक्तपुर ठिमिबाट ल्याएका थिए । तर यसवर्ष उनले जम्मा ७० हजारको पाला ल्याएका छन् ।

उनले पालाको बनावट हेरि ४० देखि ५० रुपैयाँ दर्जनमा बिक्री गर्दै आएका छन् । जुन भारतीय पालाको तुलनामा नेपालमै बनेको पाला गुणस्तर हुनुका साथै सस्तो पनि पर्छ । तर नेपाली उपभोक्ताको रोजाई भारतीय सामानमै हुनाले स्वदेशी सामानको बजार खस्कँदो छ । प्रजापति भन्छन्, ‘अहिले प्लास्टिकका भाँडाले पनि माटाका भाँडालाई विस्थापित गर्दैछ । चाडपर्वको समयमा पनि उपभोक्ताको आकर्षण भारतीय सामानमा छ ।’

अचेल दियो, पालाभन्दा भारत र चीनमा उत्पादित झिलिमिली बत्ती बाल्ने चलन बढ्दै जाँदा नेपाली पैसा विदेशिएको र स्वदेशमा बेरोजगार बढेको उनको ठहर छ । माटोका भाँडा बनाउन कालो माटोको अभाव हुँदै जानु, पेशालाई व्यावसायिक बनाउन नसक्नुजस्ता समस्या रहेको उनले उल्लेख गरेका छन् ।

पछिल्लो समय माटोका भााँडा उत्पादनमा पनि कमी आएको छ । भाँडा उत्पादन परम्परागत पेशाका रुपमा मात्रै लिईनु , उपयुक्त माटोको सहज उपलब्धता नहुनु यसको प्रमुख समस्या हो । त्यस्तै उत्पादन भएका माटोका सामानले पनि उचित बजार नपाउँदा भारतबाट आयातित सामानले नेपाली बजा्मा स्थान लिएको हो ।

कमेन्टहरु
Loading...