पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ५ ले वडा गतिविधिमा आधारित रहेको ‘वडा दर्पण’ दोश्रो अंक बिहीबार लोकार्पण गरेको छ । कोभिड सुरक्षा मापदण्ड अपनाई एक कार्यक्रम आयोजना गरि लोकार्पण गरिएको हो ।
वडाले अघिल्लो आर्थिक वर्षमा वडा दर्पणको पहिलो अंक सार्वजनिक गरेको थियो । वडा दर्पणमा वडा समितिले गरेका कामहरुको विवरण राखिएको छ । साथै सम्भावित विकासको योजना र वडावासीसँग प्रत्यक्ष सरोकार राख्ने विषय समेतिएको छ । वडाले गरेका काम जस्ताको तस्तै वडावासीसमक्ष लैजानको लागि वडा दर्पण प्रकाशन गरिदै आएको वडा समितिले बताएको छ ।
दर्पणको लोकार्पण वडा बाल माञ्चकी अध्यक्ष दिपाली भट्टराईले गरेकी थिईन् । लोकार्पण गर्दै उनले सबै क्षेत्र बालमैत्री हुनुपर्ने बताईन् । वडा दर्पणको समिक्षा गर्दै शिक्षाविद् श्रीकान्त खतिवडाले वडावासीको सरोकारको विषय भएकाले वडा दर्पण प्रकाशन हुनु वडाको राम्रो पक्ष भएको बताए । दर्पणमा वडाले गरेको विषयसँगै अबको योजनापनि राख्न सके अझ राम्रो हुने उनको भनाई थियो ।
त्यस्तै वडा ५ का वडाध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले वडाको समग्र विकासको लागि वडा समिति लागिरहेको र नमूना वडा बनाउन प्रयासरत रहेको बताए । साथै वडामा १० वर्षे विकासको योजनाका लागि तयारी भैरहेको समेत उनले जानकारी गराए । अवको वडा दर्पण महिला केन्द्रीत रहने समेत वडाध्यक्ष नेपालीको भनाई थियो ।
वडा दर्पण प्रकाशन उपसमितिका संयोजक समेत रहेका वडा सदस्य उज्वल खत्रीले वडाले गरेका कार्यलाई वडा दर्पणले वडावासीसमक्ष पुलको काम गर्ने बताए । साथै वडावासीको सुझावलाई वडासमक्ष ल्याउन दर्पणले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई थियो । यो प्रकाशनमा छुटेका विषयवस्तुलाई आगामी दर्पणमा समेटिने संयोजक खत्रीले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको संचालन गर्दै वडा सदस्य अञ्जु केसीले महिला कमजोर नहुने र कुनै पनि क्षेत्रमा अवसर आएमा उत्कृष्ट कार्य गर्न सक्ने बताईन् । कार्यक्रममा स्वागत वडा सदस्य पुष्पराज बरालले गरेको थिए ।