चरकमा कोरोना उपचारार्थ बिरामीको मृत्यु, आफन्त भन्छन् : अस्पतालको लापरवाही

 

रिना थापा । 

चरक मेमोरियल अस्पतालमा कोरोना उपचारार्थ एक बिरामीको मृत्यु भएपछि तनाव बढेको छ ।

हेमजा निवासी २९ वर्षीया महिलाको स्वाब परीक्षणपछिको रिपोर्टमा पोजेटिभ देखिएपछि उनी उपचारार्थ अस्पताल भर्ना भएकी थिइन् । नतिजा पोजिटिभ आएपनि स्वास्थ्यवस्था सामान्य रहेको उनलाई आफन्तले शुक्रबार बिहान ४ बजे अस्पताल भर्ना गरेका थिए । उपचारकैक्रममा दिउँसो करिब साढे २ बजे उनको निधन भयो ।

अवस्था सामान्य रहेको बिरामीको मृत्यु भएपछि उनका परिवार र आफन्तजनले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको जनाएका छन् । अस्पताल प्रशासनसँग मृतकका आफन्तले यसको जवाफ मागेका छन् । अपरान्ह सवा २ बजेसम्म बिरामी सामान्य अवस्थामा भएपनि १५ मिनेटपछि अस्पतालले मृत घोषणा गरेपछि आफन्त प्रशासनसँग क्रुद्ध बनेका छन् ।

आफन्तका अनुसार बिरामीले दिउँसो २ पटक वान्ता गरेकी थिइन् । त्यसपछि अस्पताललाई उक्त घटनाबारे जानकारी गराए पनि डाक्टर, नर्स कोही पनि नआएको बताए । यसबारे अस्पताल प्रशासनले बिरामीका आफन्तलाई फोनमार्फत वान्ता रोक्ने औषधिको नाम दिएर खुवाउन भनेको बताएको छ ।

वान्ता रोक्ने औषधि खुवाएपछि बिरामीले आराम गर्ने भन्दै सुतेको र केही मिनेटपछि नर्स आएर उनको नाडी परीक्षण गर्दा नचलेपछि डाक्टर बोलाइएको थियो । डाक्टरले परीक्षण गर्दा उनको मृत्यु भइसकेको बताइएको छ । अस्पतालका चिकित्सक क्लाराले उनको मृत्यु एनजाइटी –(चिन्ता)ले भएको बताएकी छिन् ।

मृतकका पतिले उनले करिब ४ वर्ष पहिले टाउको दुखेको औषधि २ महिना खाएको बताएका छन् । तर उनको रोगबारे खुलाएनन् । अस्पतालले भने उनी ४ वर्षदेखि डिप्रेशनको बिरामी रहेको जनाएको छ ।

मृतकको परिवारजनले सवा २ देखि साढे २ बजेसम्म उनको के–कस्तो कारणले मृत्यु भएको हो भन्ने कारण खोजेको छ । त्यस्तै, अस्पतालमा भर्ना गरेपछि निरीक्षण गर्न चिकित्सक नआएकोबारे ध्यानाकर्षण गराएको छ ।

मृतकका काकाले उपचार गर्न ल्याउँदा डाक्टर नै नआएको भन्दै रोष प्रकट गरेका छन् । ‘बिरामीलाई उपचार गर्न ल्याउने हो’ उनले भने ‘तर बिरामी हेर्न डाक्टर नै आएनन्, डाक्टर आएर निरीक्षण गरेको भए हाम्रो मान्छे बाँच्ने थियो ।’ उनले अस्पतालको लापरवाहीकै कारण आफन्तको ज्यान गएको उल्लेख गरे ।

मृतकको आफन्तहरुको एउटै स्वर छ, ‘अस्पतालको लापरवाही छ, उसले स्वीकारोस् र अब आउने बिरामीलाई उचित उपचार गरोस् ।’

 

कमेन्टहरु
Loading...