दिपक के श्रेष्ठ
नेपाली उखान छ, ‘मरेको लाशलाई जुम्राले पनि छाड्छ ।’ भनाइको सरल अर्थ हो, कुनै वस्तुको मूल्य वा प्राण नरहे त्यो बेकामे हुन्छ । यो हेडलाइन त्यस्तै बेकामे बनेको सानो तर गुल्जार कुनाको हो ।
त्यो कुनामा सबै थिए । सबै थोक थियो । त्यहाँ निर्वाध चुरोट तान्न पाइन्थ्यो । यसो छलिएर गाँजा माड्न पाइन्थ्यो । जाडोमा हार्ड र गर्मीमा सफ्टका बोत्तल रित्याउन्न पाइन्थ्यो । त्यस्तो नचल्नेलाई चिया र कफीका प्याला सर्भ हुन्थे । गाँठ कम हुनेले नेपाली खाजा मानिएको चना तरकारी र सुख्खा रोटी लिन्थे । हैन मम खान्छु भन्नेलाई भेज, ननभेज दुबै प्रकार पाइन्थे । त्यतैबाट डुंगा लिएर अनदुको फेदमा रमाउने चाह भएकालाई त्यो कुनो हार्बर थियो ।
स्विमिङ् होस् वा फिसिङ, बोटिङ होस् वा गेमिङ, त्यो कुनोमा सबथोक थियो । शारीरिक खेलमा टेबलटेनिस र मानसिक खेलमा चेसको समेत सुविधा बोकेको थियो त्यो कुनोले । कतिलाई ‘रमाउने’ त कतिलाई ‘कमाउने’ थलो बनेको कुनो अहिले केवल घाट बनेको छ । त्यो पनि सुनसान घाट ।
चल्तीको कुनोबारे धेरै सस्पेन्समा नराखौं । हुनत तस्बिर बोल्ने जमानामा कुनोबारे थाहा पाउन गाह्रो छैन । तैपनि, पोखराको लेकसाइडस्थित स्ट्रिट नं. ६ को सामुन्ने रहेको कुनोेको कथा हो यो । यो कुनोको खास नाम छैन । पुरानो र चल्तीमा रहेको लेक भ्यू रिसोर्ट सामुन्ने रहेको यो ठाउँमा २ दशक अघिदेखि टेबलटेनिस खेल्न सुरु गरिएको हो । पछिल्लो समय चेस पनि खेल्न थालिएपछि ठाउँको स्वामित्व पनि उसैले लियो । र, नाम पायो ‘चेस पार्क ।’
चेस पार्कमा बिहान, बेलुकी नियमित चिया, रोटी, तरकारी बेच्दै आएका फेसबुक (वास्तविक नाम लक्ष्मण क्षेत्री) चैतमा लकडाउन सुरु भएपछि देखिन छाडे । त्यसपछि चेसपार्कको कुनोमा खाजा बेचेर ४ जनाको परिवार पाल्ने फेसबुक त्यहाँ धाउनुको अर्थ रहेन । कोरोनाको डरले स्थानीय जमघट हुन छाडे । टेबलटेनिस र चेसमा हाजिर बजाउने पसलेहरुको सटरमा चाबी लाग्यो । कोही गाउँ लागे, कोही यतै छन् । तर पार्कमा चहलपहल छैन । चेसबोर्ड बन्द भयो, चेसका राजारानी ज्ञानेन्द्र र कोमल भए ।
त्यहाँ बियर तान्ने छैनन् । चुरोट तान्ने भेटिन्नन् । ट्याक्सीवाला हराए । अझ रमाइलो कुरो कुनोबाट तल्तिर ओर्लिएर तुक्र्याउनेहरु समेत भेटिन छाडेका छन् । पोखरामा शौचालयको अभाव छ । लेकसाइडमा झन् छँदैछैन । सबैलाई शौचालयको अभाव पुरा गरिदिने त्यही कुनो थियो । सानो तर गुल्जार कुनो ७ महिनादेखि सुनसान देखेर होला साइकल र मोटरसाइकलको व्यवसाय गर्ने पञ्च लामाले भने, ‘कुनो टुहुरो भयो, अहिले त मान्छेहरु पिसाब फेर्न पनि आउँदैनन् ।’ त्यही कुनोमा व्यवसाय र मनोरञ्जन एक साथ गरेका लामा सोही दिनको पर्खाइमा छन् ।
लेकसाइड ओहोरदोहोर गर्दा धेरैको ध्यान तान्ने कुनोसँग जीवन बिताइरहेका राजु भुजेल यस्तो अवस्था देखेर चकित छन् । कुनो छेउको सानो ठाउँमा टेबलटेनिसको बोर्डं बनाएर उक्त स्थानलाइ जीवन्त बनाएका उनी अहिले न बिहान देखिन्छन् न त बेलुकी पसिना बगाउन आउँछन् । ‘कोरोनाले खत्तम बनायो’ उनले सटिक भनाई राखे । लेकसाइडको धेरै ठाउँमा रैथाने र बाहिरियाबीचको सम्बन्ध त्यति प्रगाढ छैन तर चेसपार्क र त्यो कुनोले त्यस्ता पर्खाललाई ठडिन दिएको थिएन । डोकोमा बदाम र साइकलमा पराठा बेच्नेलाई समान छहारी दिएको थियो ।
सहिदचोकबाट अघि बढ्दा आँखै अगाडी विशाल फेवाको काया देखिने त्यो कुनोमा पुग्दा घुमन्तेहरु टक्क रोकिन्थे । फोटो खिच्न भ्याउँथे । विदेशीहरु कोही टेबलटेनिस खेल्न इच्छुक भएको दर्शाउथे । कोही चेस खेल्न रुचि देखाउँथे । लेकसाइडको महंगो मेनुबाट आत्तिएकाहरु १५ रुपैयाँमा चिया पिउथे । ५० रुपैयाँ खर्चदा तरकारी र रोटीले पेट भरिन्थ्यो । नजिकैको किराना पसलबाट चाहेको पेय पदार्थ किनेर सुस्ताउँदै पिउने, खाने थलो त्यही कुनो थियो ।
अहिले पनि कुनो त्यही छ । चेसपार्क त्यही हो । कञ्चन फेवा झनै शान्त र आकर्षक देखिन्छ । टेबलटेनिसको फिका देखिने बोर्ड त्यही छ । चेसको बोर्ड पुरानो भएर त्यही बुढो गोल्मटको काँपमा राजारानीविहीन भएर च्यापिएको छ । कुनोबाट ह्वास्स पिसाबको गन्ध आउँदैन । कुनो अहिले आफ्नो सबै र सबथोक गुमाएको विधुवाजस्तै भएको छ ।
अन्त्यमा, सोही कुनोमा मैले तुक्र्याएर आए । फर्कदा मनमनै सोचे, लेकसाइडमा तुक्र्याएरै भएपनि मैले केही त योगदान गरे ।