पोखरा । कोरोना नियन्त्रणमा गण्डकी प्रदेश सरकारका कदम प्रभावहीन बनेको बनेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार असफल भइसकेको दाबी गरेको छ ।
बिहिबार नेपाली कांग्रेस संसदीय दलको बैठकले कांग्रेसले कोरोना नियन्त्रणको लागि सरकारसमक्ष जनमुखी प्रस्ताव राखेको तर सरकारले भने त्यसलाई बेवास्ता गरेका कारण नै अहिलेको अवस्था आएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरलले बताए ।
बैठकको निर्णयमा भनिएको छ, “कोभिड-१९ बाट प्रदेश र जनतालाई हुन सक्ने सम्भावित क्षतिबाट बचाउन नेपाली कांग्रेस संसदीय दल गण्डकीले विभिन्न समयमा सुझाव दिने, माननीय मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिने, भेटेर छलफल गर्ने लगायत “एक घर, एक पिसिआर” लगायत कोभिड १९ सम्बन्धी संकल्प प्रस्ताव समेत प्रदेसभामा दर्ता गराएको तर सरकार गैह्रजिम्मेवार भएर नेपाली कांग्रेसको जनमुखी सकारात्मक मागलाई नजरअन्दाज गर्ने, अस्विकृत गर्ने कार्य गर्यो । नेपाली कांग्रेसले आँकलन गरेको कोभिड १९ को दुष्परिणाम अहिले आएर यथार्थमा परिणत भएको छ । यस विषम परिस्थितीमा जनताको पिसिआर गर्ने, संक्रमित र अन्य रोगको उपचार समेत गर्न सरकार असफल भएको सिद्ध भएको छ ।”
संघ सरकारले कोरोना संक्रमितको निशुल्क उपचार र पिसिआर नगर्ने निर्णयको पनि कांग्रेसले विरोध गरेको छ ।
“नागरिकहरुको निशुल्क पिसिआर गर्ने, उपचार गर्ने तथा समस्यामा परेका अन्य नागरिकको उपचार, समस्याको सम्बोधन तत्काल गर्न गण्डकी प्रदेश सरकारलाई जोडदार माग गर्दछौँ ।” दलका सचेतक ओमकला गौतम चालिसेले भनिन् ।
यस्तै दिवंगत नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य, प्रतिनिधीसभाका सदस्य सूर्यबहादुर केसीको असामयिक निधनप्रति कांग्रेसले शोक व्यक्त गरेको छ ।
बिहिबार नै स्वर्गीय केसीको घरमा दलका पदाधिकारी पुगेको प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए ।
उनले भने, “उहाँको निधनले नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेश स्तब्ध र दुखित बनेको छ । उहाँको असामयिक निधनले लोकतान्त्रिक आन्दोलनलाई ठुलो क्षति पुर्याएको छ । महाप्रस्थानमा लाग्नुभएको आदरणीय नेताप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै बैकुण्ठवासको कामना गर्दछौँ । शोकसन्तप्त परिवारलाई यो असहनीय पीडा सहनसक्ने शक्ति इश्वरले प्रदान गरुन ।”