ललितपुरमा ६ हजार संक्रमित घर फिर्ता, ७९ को निधन

ललितपुर । ललितपुरमा कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ६ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको संख्या ६ हजार ३ सय १६ पुगेको हो । अहिलेसम्म कोरोनाका कारण निधन हुनेको संख्या ७९ पुगेको छ । यसैगरी जिल्लामा कूल कोभिड संक्रमित संख्या ८ हजार ८ सय १० पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार ४ सय १५ पुगेको कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताएका छन् ।

यसैगरी ललितपुर महानगरपालिकामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ८ सय ६१ र ज्यान गुमाउनेको संख्या ३५ पुगेको ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले बताइन् । उनले भनिन्, ‘महानगरपालिकामा हालसम्म कूल कोरोना संक्रमित संख्या ५ हजार ४ सय ४२ पुगेको छ भने सक्रिय संक्रमित संख्या १ हजार ५ सय ४६ पुगेको छ ।’ महालक्ष्मी नगरपालिकामा कोभिड संक्रमणबाट मुक्त भई स्वास्थ्यलाभ गर्नेको संख्या ८ सय १ र ज्यान गुमाउनेको संख्या ६ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले जानकारी दिएका छन् । उनले भने, ‘यहाँ अहिलेसम्म कूल कोरोना संक्रमित संख्या १ हजार १ सय ५४ र सक्रिय संक्रमित संख्या ३ सय ४७ पुगिसकेको छ ।’

गोदावरीमा आज बिहानसम्म डिस्चार्ज हुनेको संख्या ४ सय ३५ र ज्यान गुमाउने नगरवासीको संख्या ७ पुगेको छ । त्यहाँ हालसम्म कूल कोभिड संक्रमित संख्या ६ सय ३१ र सक्रिय संक्रमित संख्या १ सय ८९ पुगेको नगरपालिकाले जनाएको छ । गोदावरीको वडा नं ११ चापागाउँ ५२ महिला र ६४ पुरुष गरी १ सय १६ जना सबैभन्दा बढी संक्रमित रहेको वडा हो भने वडा नं ७ देवीचौर हालसम्म १ जना व्यक्तिमात्र संक्रमित भएको वडा रहेको नगरपालिका सूचना अधिकृत विष्णु कँडेलले जानकारी दिएका छन् । उनले भने, ‘गोदावरी ठेगाना भएका ३ पुरुष र १ महिला गरी ४ जना व्यक्तिको अझैसम्म पनि पहिचान खुल्न सकेको छैन ।’

यर्काेतर्फ दक्षिण ललितपुरका वाग्मती, महाँकाल र कोञ्ज्योसोम ३ गाउँपालिकाका धेरैजसो कोरोना संक्रमितले स्वास्थ्यलाभ गरेर डिस्चार्ज भइसकेका सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकको भनाइ छ । महाँकाल र कोञ्ज्योसोममा हालसम्म कुनै व्यक्तिले कोरोनाका कारण ज्यान गुमाउनु परेको छैन । तर वाग्मती वडा नं ६ आश्राङ निवासी ७० वर्षमाथिका १ जना पुरुषलाई कोरोना लगेर निधन भइसकेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए । उनले भने, ‘यहाँ डिस्चार्ज हुनेको संख्या १५, होम आइसोलेसनमा ७ र गाउँपालिकामा कूल कोभिड संक्रमित संख्या २२ पुगेको छ ।’ गाउँपालिकाका केही व्यक्तिमा कन्ट्याक टे«सिङ गर्दा कोरोना पोजेटिभ देखिए पनि रोगको वास्तै नगरी मज्जाले हिँडिरहने, सजक हुनुपर्छ भनेर सम्झाए पनि ‘मलाई पोजेटिभ देखिएकै छैैन । मलाई यो रोग लागैकै हैन’ भन्नेसम्मका कुरा गर्ने गाउँवासी रहँदा उनीहरुबाट झन् जोखिम बढ्ने पो हो कि भन्ने डर रहेको तिमिल्सिनाले जानकारी गराएका छन् ।

महाँकालमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १४, सक्रिय संक्रमित १ र कूल कोरोना संक्रमित संख्या १५ पुगेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए । कोञ्ज्योसोममा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको संख्या १०, सक्रिय संक्रमित ४ र हालसम्म गाउँपालिकामा कूल कोभिड संक्रमित संख्या १४ पुगेको स्वास्थ्य संयोजक नवलकिशोर महतोले बताएका छन् । उनले भने, ‘गाउँपालिका–३ दलचोकी निवासी एकै घरका ४ जनामा दोस्रो पटक कोरोना परीक्षण गर्दा पुनः पोजेटिभ नतिजा आएपछि आज तेस्रो पटक हामीले उहाँहरुको स्वाब संकलन गरेर गोदावरी नगरपालिका–६ टीकाभैरवस्थित आनन्दवन अस्पतालमा परीक्षणका लागि लाँदै छौं ।’ रासस

कमेन्टहरु
Loading...