पर्वत । पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँपुलबाट घोरेपानीसम्मको २८ किलोमिटर वैकिल्पक पदमार्गको निर्माण अन्तिम चरणमा पुगेको हो । नयाँपुलबाट देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदमार्ग निर्माणको काम अहिले पनि जारी छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ७० लाखको बजेटबाट २ वर्षअघि निर्माणको काम थालिएको पदमार्ग अन्तिम चरणमा पुगेको मोदी गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा संघ सरकारको समेत १० लाख बजेट पदमार्गमा खर्च भएको थियो ।
निर्माण सम्पन्न भएकोमध्ये १७ किलोमिटर पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । अहिले खोलिएको पदमार्गबाट प्रसिद्ध पर्यटकीयस्थल भमरकोटसम्म पुग्न सकिन्छ । देउपुरका स्थानीय मनबहादुर खड्काको अगुवाइमा निर्माणाधीन नयाँपुल–देउपुर–भमरकोट–घोडेपानी पदमार्ग अब १ वर्षभित्र बनाइसक्ने लक्ष्य रहेको छ । अहिलेसम्म १७ किलोमिटर पदमार्गको काम सकिएको र अझै ११ किलोमिटरको काम अन्तिम चरणमा पुगेको उनले बताए । ‘प्रदेश सरकारबाट गत वर्ष बजेट आउन सकेन, संघबाट छुट्टिएको १० लाखले थप काम भएको छ ।’ उनले भने, ‘संघ र प्रदेशले आवश्यक बजेट विनियोजन गरे १ वर्षभित्रमै काम सकिनेछ ।’ पदमार्गमा झण्डै साढे २ करोड खर्च हुने अनुमान छ । पदमार्गमा स्थानीय सीप, प्रविधि र सामग्रीको प्रयोग गरिएको छ ।
अर्कोतर्फ देउपुर हुँदै भमरकोटबाट माटेको लेकसम्मको ११ किलोमिटर पदमार्गले जोडिसकिएको छ भने माटेबाट जलजला हुँदै घोरेपानी जोड्न अब करिब ११ किमी दूरी बाँकी छ । जंगल र भिरको बाटोमा जोखिम मोलेरै भए पनि काम गरिरहेको खड्काले बताए । थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन । पदमार्गले आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । ठूला घाँसेमैदान, दर्जनौं प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जंगल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । विभिन्न प्रजातिका चराचुरुंगी र जंगली जनावरसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइने उनले बताए ।
यसैबीच हालै गृहजिल्ला आएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जंगलमै बास बसेर उक्त पदमार्गको अवलोकन गरेका छन् । पदमार्गको अवलोकन साथै प्रचारप्रसार गर्न तिमिल्सिनासँगै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीलगायतको टोली एक रात जंगलमै बास बसेर पदमार्गको अवलोकन गरेका हुन् । बिहानको सूर्योदय र बेलुकाको सूर्यास्तसँगै टोलीले ३ हजार १ सय मिटरको उचाइमा रहेको माटेसम्म पुगेको थियो ।
पदमार्गको अवलोकन गर्दै अध्यक्ष तिमिल्सिनाले पर्यटकीय क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएकाले पहिचान भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गर्ने गरी योजना बनाउन आफूले पहल गर्ने बताए । ‘भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा सडकको सम्भावना धेरै कम भएकाले यो राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ ।’ उनले भने, ‘यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ ।’ पोखरासँग यसलाई जोडेर पर्यटकीय पूर्वाधार बनाउने योजना अघि सारिएको उनले बताएका छन् । भमरकोटसँगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर बस्ती भुकदेउराली, ताङ्ले, लप्सीबोट, देउपुर, घुरुंगालगायतका ठाउँमा घरबास (होमस्टे) सेवा सञ्चालन गरी प्रमुख पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना बनाउन थालिएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए ।
मोदीमा ५ दिने ‘लकडाउन’
पर्वतको मोदी गाउँपालिकामा कोरोना संक्रमण फैलन नदिन ५ दिन लकडाउन गरिएको छ । मोदी गाउँपालिकाले गरेको कोरोना संक्रमित व्यक्तिको सम्पर्क पहिचान (कन्ट्याक्ट ट्रेसिङ ) को काम भइरहेकाले समुदायमा संक्रमण फैलन नदिन सोमबार राति १२ बजेदेखि ५ दिन लकडाउन गरिएको हो ।
मोदी गाउँपालिकाको पालिकास्तरीय संकट व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न बैठकले ५ दिनसम्म पालिकाका सबै सेवा र अत्यावश्यकबाहेक सबै पेसा व्यवसाय बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिएका छन् । गाउँपालिकाका अुनसार सबै वडा कार्यालयको अत्यावश्यक सेवाबाहेकको सेवा, शैक्षिक संघसंस्थाबाट प्रदान गरिने सेवा, गाउँपालिकास्थित बैंक, वित्तीय संस्था एवं सहकारीबाट प्रदान गरिने सेवा कात्तिक २२ गते राति १२ बजेसम्म बन्द हुनेछन् ।
यसैगरी गाउँपालिकाको बेतनी, तिलाहार, डिमुवा, पातिचौर, भद्रखोला र अम्बोटजस्ता बजार क्षेत्रका अत्यावश्यक सेवा र वस्तुबाहेकका पसल पनि बन्द हुने भएका छन् भने गाउँपालिकाकोे विभिन्न शाखा सडकबाट सञ्चालन हुने यातायात सेवा बन्द गर्ने निर्णय भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पर्ने गाउँपालिकाभित्रको लोकमार्गमा भने सवारी साधन सञ्चालनमा रोक नलगाइएको क्षेत्रीले बताएका छन् ।
अत्यावश्यक काममा बाहेक पाँच दिन छिमेकी स्थानीय तह एवं जिल्लाबाट मोदी गाउँपालिकामा आवतजावत नगरिदिन पनि अनुरोध गरिएको छ । गाउँपालिकामा गरिएको सम्पर्क पहिचानका २ जनामा कोरोना पुष्टि भएको र आगामी दिनमा संक्रमण अझै उच्च हुनसक्ने भएकाले संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको पालिकाले जनाएको छ । रासस