काठमाडौं । जोइन्ट बाउन्ड्री ग्रुप बीडब्लुजीको बैठक गर्न भारत सकारात्मक देखिएको छ । सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको उक्त ग्रुप कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा विवाद समाधान गर्छ ।
नेपालले यहीँ अगष्ट महिनामा सो बैठक आयोजना गर्न प्रस्ताव गरेपनि वार्ताका लागि दुईवटा मिति प्रस्ताव गरेको छ । दुईवटा प्रस्तावित मितिले बैठक आयोजना कहिले हुन्छ तय भइसकेको छैन । भर्जुअल बैठकको मोडालिटीको बारेमा कुराकानी भइरहेको छ ।
यता टाइम्स अफ इन्डियाले नेपालको प्रस्तावलाई भारतले अध्ययन गरिरहेको र यही नोभेम्बर महिनामा नै बैठक गर्न भारत तयार भएको उल्लेख गरेको छ । तर सो बैठकको म्यान्डेट प्राविधिक विषय हल गर्ने रहेको हुनाले कालापानी र सुस्ताको विषयमा भने छलफल हुने छैन । बैठक दुवै देशका नापी विभागले नेतृत्व गर्ने छ ।
सुस्ता र कालापानीको विषयमा विदेश सचिवले कुराकानी गर्ने र अन्य ठाउँका प्राविधिक विषय बीडब्लुजीले हेर्ने सहमति दुई देशबीच भएको छ । सन् २०१४ मा निर्माण भएको सो संयन्त्रको म्यान्डेट सीमा स्तम्भ निर्माण, मर्मत सम्भार र दशगजाको अतिक्रमण हटाउनु हो । अहिलेसम्म सो संयन्त्रको बैठक ६ पटकसम्म बसेको छ ।
सो संयन्त्रलाई सुस्ता र कालापानीको विषयमा वार्ता गर्ने म्यान्डेट नभएपनि सीमा समस्या समाधानको लागि सुझाव दिन भने भनिएको छ त्यसैले सो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । यसले कालापानी र सुस्ताको विषयमा पनि वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ ।