पोखरामा कोरोनाले हरिबिजोगः अस्पताल भरिँदा २ तिहाई संक्रमित होम आइसोलेसनमा

रिना थापा, पोखरा ।

पोखरा महानगर यतिबेला कोरोनाको हटस्पट बनेको छ । पछिल्लो समय दैनिक २ सयको हाराहारीमा संक्रमित थपिँदै छन् । संक्रमणको दर ह्वात्तै बढेसँगै प्रदेश सरकारको फितलो तयारी छर्लंग देखिएको छ । कोरोना रोकथाम र नियन्त्रणमा अब्बल भन्दै स्वयंले घोषणा गरेको प्रदेश सरकार यतिबेला लाजले नांगिएको छ ।

विगत ७ महिना अगावैदेखि संक्रमणको परिस्थितिसँग जुध्न तयार रहेको सरकार अहिले संक्रमितलाई एउटा मात्रै पनि बेड उपलब्ध गराउन सकेको छैन । सरकारले बनाएका आइसोलेसन सेण्टर भरिएका छन् । दिनप्रतिदिन पोखरामा संक्रमण थपिएसँगै संक्रमितलाई उपचार कहाँ गर्ने ? सरकारको टाउको दुखाइ बनेको छ । यद्यपि, प्रदेश सरकारदेखि पोखरा महानगरपालिका अहिले बल्ल ‘तात्तिएको’ जस्तो देखाउन थालेका छन् ।

पोखरा महानगरपालिकाका अनुसार हालसम्म पोखरामा २ हजार ६ सय २४ जना कोरोना संक्रमित रहेका छन् जसमध्ये १ हजार ३४ निको भएर घर फर्किएका छन् । अहिले पोखरा महानगर मात्र १५ सय ९० सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये १ हजार बढी होम आइसोलेशनमा रहेका छन् । सरकारले पश्चिमान्चल क्षेत्रीय अस्पतालमा ४० बेड, सरुवा तथा संक्रामक रोग अस्पताल लेखनाथमा ५० बेडको आइसोलेसन तयार गरेको थियो । तर संक्रमित बढेसँगै सरकारी अस्पतालका बेड पनि भरिए ।

अहिले क्षेत्रीय अस्पतालमा ३७ जना कोरोना संक्रमित उपचाररत छन् भने जम्मा ३ बेड खाली छ । त्यस्तै लेखनाथमा रहेका ५० मध्ये ४८ बेड भरिएका छन् । यसैबीच, क्षेत्रीय अस्पतालले ४० बेड थप्ने बताएको छ । त्यस्तै सरुवा रोग अस्पतालले भेन्टिलेटर, आइसियु जोड्ने काम भइरहेको जनाएको छ । तत्कालका लागि सरुवा रोग अस्पतालसँग १६ वटा अक्सिजन ग्याँस सिलिन्डरमात्र उपलब्ध छन् ।

महानगरको मातहतमा कृषि तालिम केन्द्र मालेपाटनमा ४६ बेडको आइसोलेशन उपलब्ध छ । तर उक्त आइसोलेसन सेन्टरमा चिकित्सकको सट्टा कन्सलट्यान्ट राखेर सामान्य लक्षण समेत नभएका संक्रमितलाई राख्दै आएको छ । सरकारी अस्पतालमा बेड कम भएपछि निजी अस्पताललाई सरकारले कोरोना परीक्षणको अनुमति दिएको छ । उसो त सरकारले तयारीका बेला नै निजी अस्पताललाई केही प्रतिशत बेड छुट्टाएर राख्न आदेश दिएको थियो ।

प्रदेश सरकारले पोखरा महानगरपालिका भित्र, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल, फिस्टेल हस्पिटल, जिएमसी मेडिकल कलेजलाई शुल्क लिएर उपचार गर्न मिल्ने अनुमति दिएको छ ।

प्रदेशको अनुमति पाएसँगै मणिपाल शिक्षण अस्पतालले १ सय बेड उपलब्ध गराएको छ । अस्पतालमा ३२ वटा आइसियु र १५ भेन्टिलेटर रहेका छन् । त्यस्तै चरक मेमोरियलले ३० बेड क्षमता भएको आइसोलेशन उपलब्ध गराएको छ । जसमा २४ वटा आइसियु र ५ वटा भेन्टिलेटर रहेका छन् ।

फिस्टेल अस्पतालमा भने जम्मा ९ बेड उपलब्ध रहेको छ । उक्त अस्पतालमा १० वटा आइसियु र ५ वटा भेन्टिलेटर उपलब्ध छन् ।

पोखरामा जिएमसीले धेरै आइसोलेशन क्षमता भएको जनाएको छ । अस्पतालले १ सय ७१ बेड उपलब्ध भएको महानगरलाई जानकारी दिएको छ । त्यस्तै जिएमसीमा ४८ वटा आइसियु र १० भेन्टिलेटर उपलब्ध छन् ।

कृषि तालिम केन्द्रमा ४५ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ३७ जना पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, ४८ जना सरुवा रोग अस्पताल, अन्य केही संक्रमित निजी अस्पताल र बाँकी १ हजार बढी संक्रमित होम आइसोलेसनमा रहेको पोखरा महानगर स्वास्थ्य शाखाका वरिष्ठ स्वास्थ्य अधिकृत हेमन्त शर्माले जानकारी दिए ।

उनका अनुसार परिस्थिति नियन्त्रणका लागि महानगरले हरसम्भव प्रयास गरेको छ । स्थिति नियन्त्रणका लागि पोखरा महानगर र क्षेत्रीय अस्पतालले संयुक्तरुपमा मिलेर काम गर्नसक्ने जानकारी दिए ।

‘अहिलेको परिस्थितिमा मिलेर काम गर्नु जरुरी छ, कोरोना नियन्त्रणका लागि मानव संशाधन एक अर्काको लागि मोबिलाइज गर्न जरुरी छ ।’ उनले भने ‘महानगरमा छलफल गर्दै छौं, संक्रमण रोक्नका लागि तत्काल के कदम चाल्ने भन्ने विषयमा पनि छलफल पनि हुँदैछ ।’

उसो त संक्रमण बढ्दै गएपछि पोखरामा पुनः लकडाउन गर्नुपर्ने आवाज पनि जनस्तरमा आउन थालेको छ । यद्यपि, महानगर लकडाउनको पक्षमा भने नरहेको शर्माले बताए ।

‘हामीले तीजको बेला लकडाउन गरेर हेरिसकेका छौं, लकडाउन विकल्प हैन, त्यतिन्जेलको समयमा संक्रमण निवारण त हुन सक्छ । तर निर्मुल हुँदैन ।’ उनले भने, ‘पछिको तयारी के त ? सरकारले, फुल टेस्टिङ, आइसोलेसनमा राख्ख्ने व्यवस्था र उपचार खर्च गर्नुपर्छ र नागरिक तहमार्फत अनुशासन पालना हुन जरुरी छ ।’

अहिले महानगरले लेकसिटी हस्पिटललाई पुर्णरुपले आइसोलेसनमा परिणत गर्ने तयारी गरेको जानकारी दिएको छ । उक्त अस्पतालमा ५० देखि ६० ओटासम्म आइसोलेसन बेड रहनेछ ।

यतिबेला सरकारी अस्पतालको बेड भरिएपछि निजीमा जानुपर्ने बाध्यता छ । यही मौकामा निजी अस्पतालले समेत लाखौं रुपैयाँ धरौटी तिर्नुपर्ने र दैनिक ३० हजार बढी शूल्क लिएको छ । अहिलेसम्म पोखरामा जम्मा २३ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रदेशले अहिले स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, क्षेत्रीय अस्पताल र लाइफ केयर गरी ३ वटा प्रयोगशालामा दैनिक कोरोना परीक्षण गर्ने व्यवस्था गरेको छ । परीक्षण बढाए सँगै संक्रमणको दरसमेत तीव्र भएको छ । कोरोना उपचारमा केन्द्र सरकारले आफ्नो असमर्थता जनाइसकेको छ । प्रदेश र स्थानीय सरकार के–कसो गर्ने भन्नेमा अझै ठोस तयारी र निर्णयमा पुग्न सकेका छैनन् । स्मरण रहोस्, संविधानको स्वास्थ्यसम्बन्धी ऐनमा सरकारले ‘आकस्मिक तथा सरुवा रोगको निशूल्क उपचार गर्ने’ भनि स्पष्ट उल्लेख छ ।

कमेन्टहरु
Loading...