दिपक के श्रेष्ठ
युएइमा जारी तेह्रौं इन्डियन प्रिमियर लीग आइपिएलको सुरुवाति खेलहरुमा मुम्बई इन्डियन्ससँग सिंगौरी खेल्दै दिल्ली क्यापिटल्स कहिले पहिलो त कहिले दोस्रोको दौडमा अघि बढ्यो । दिल्लीलाई सहजै सेमिफाइनलमा पुग्ने आंकलन पनि गरियो । यो सिजनमा जीत्ने बानी परेको जस्तो देखिएको दिल्लीको पछिल्लो खेल विश्लेषण गर्ने हो भने अब सेमीमा पुग्न उसलाई कठिनप्रायः बनेको छ ।
आजको अंक तालिकामा दिल्ली तेस्रो स्थानमा रहेको छ । तर आजको खेलमा जित्न नसके शीर्ष ४ मै रहिरहला भनेर विश्वास गर्न सकिन्न । भन्नलाई क्रिकेटमा असम्भव भन्ने हुँदैन तर पछिल्लो ५ खेललाई आधार मान्ने हो भने दिल्लीले लगातार ४ खेल हारेको छ । यता, पाँचो स्थानमा रहेको सनराइजर्स हैदरावादले ३ खेल जितेको छ ।
दिल्लीले आज अंक तालिकामा दोस्रो स्थानमा रहेको रोयल च्यालेञ्जर्स बैंग्लोरसँग अबु धाबीको शेख जायद स्टेडियममा बेलुकीको साढे ७ बजे खेल्दैछ । दुबैले समान १३ खेलबाट १४ अंक बटुलेका छन् । रनरेटको आधारमा बैंग्लोर दोस्रो स्थानमा टिकेको छ । तर आज जसले जित्छ उक्त टिम प्लेअफमा पुग्न सफल हुन्छ । बैंग्लोरले पनि पछिल्लो ५ खेलमा ३ खेल हारेको छ तर उसको खेल दिल्लीको तुलनामा सुधारिएको र खारिएको देख्न सकिन्छ ।
पछिल्लो खेलमा मुम्बइसँग शर्मनाक हार व्यहोरेको छ । उसले पहिलो इनिङमा ब्याटिङ गरेर केवल १ सय ११ रनको लक्ष्य दिएको थियो, जसलाई मुम्बइले १ विकेटको क्षतिमा १५ ओभरमै पुरा ग¥यो ।
अहिलेसम्मको खेल अनुसार पञ्जाब, चेन्नई र राजस्थान प्लेअफबाट बाहिरिसकेको छ । माथिल्लो ४ मा मुम्बई, बैंग्लोर, दिल्ली र कोलकाता छन् । पाँचौमा छ हैदराबाद । आज दिल्ली वा बैग्लोर जो हारे पनि हैदराबाद अघि बढ्न सक्छ । १३ खेलबाट दिल्लीको १४ अंक छ भने समान खेलबाट हैदराबाद १२ अंकमा रहेको छ । हैदराबादले भोली मुम्बइसँग खेल्नेछ ।
चौथो स्थानमा रहेको कोलकाताको १४ अंक रहेको छ । उसको रनरेट दिल्लीको भन्दा कमजोर रहेकाले दिल्ली वा बैंग्लोर जो हारेपनि शीर्ष ४ मा रहन सक्छ तर उसले रनरेट सुधार्न सक्नुपर्छ । अन्यथा, आजको खेलमा दिल्ली हा¥यो र भोलीको खेलमा हैदरावादले जित्यो भने रनरेटको आधारमा दिल्ली प्लेअफमा नपुग्न सक्छ । यसर्थ, आजको खेलमा दिल्लीले बैंग्लोरसँग खेलिरहँदा पछिल्लो ५ खेलको परिणामलाई बिर्सेर कमब्याक गर्न सक्नु पर्छ वा रनरेट खस्कन नदिई सम्मानजनक पराजयको हकदार हुन सक्नुपर्छ ।
कूल ६० खेल खेलिने आइपिएलमा आज दिल्ली र बैंग्लोरबीच ५५ औं र भोली हैदराबाद र मुम्बइबीच ५६ औं खेल खेलिनेछ । बाँकी ३ खेल प्लेअफ र ६० औं खेल फाइनल हुनेछ । मुम्बइले भने प्लेअफमा आफ्नो नाम लेखिसकेको छ । मुम्बइलाई हालसम्म लीगमा सफल टिम भनेर चिनिन्छ । उसले ४ पटक उपाधि जितेको छ ।