कोलकाता ६० रनले विजयी, जितसँगै जारी आईपीएलको प्लेअफमा पुग्ने सम्भावना कायम

 

 

काठमाडौं । इण्डियन प्रमियर लिग आईपीएल क्रिकेट अन्तर्गत आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ ।

 

युएईको दुबईमा भएको खेलमा कप्तान इयान मोर्गानको उत्कृष्ट ब्याटिङ र पेट कमिन्सको कसिलो बलिङको कारण कोलकाताको जित सुनिश्चित भएको हो ।

खेलमा कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि पेट कमिन्सले चार विकेट लिए । शिवम माझी र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।

 

 

जितसँगै कोलकाताले जारी आईपीएलको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । यो जितसँगै कोलकाता आठौं स्थानबाट उक्लिएर चौथो नम्बरमा पुगेको छ । राजस्थानको यात्रा भने यहीँबाट टुंगिएको छ ।

 

 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।

 

 

कोलकाताका लागि कप्तान इयान मोर्गनले नटआउट ६८ रन बनाए । ३५ बल सामना गरेका उनले ६ छक्का र ५ चौका प्रहार गरे । उनी म्यान अफ द म्याच भए ।

 

 

यसैगरी शुभमन गिलले ३६, राहुल त्रिपाठीले ३९, आन्द्रे रसेलले २५ र पेट कमिन्सले १५ रन बनाए । बलिङतर्फ राजस्थानका राहुल तेवटियाले ३ र कार्तिक योगीले २ विकेट लिए ।

कमेन्टहरु
Loading...