पोखरा । कास्कीमा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका ५ वटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्य परिवारको तथ्यांक संकलन गरी चालु आर्थिक वर्षभित्रै १ हजार ८ सय ७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न प्रति परिवार ५० हजारका दरले अनुदान दिने तयारी गरिएको छ ।
खरको छाना भएका, बाढी पहिरोले विपद्मा परेका तथा न्यून वर्गका नागरिक परिवारको लगत संकलन गरी उनीहरुलाई अनुदान रकम दिइने सुरक्षित नागरिक आवास कार्यक्रम समन्वय सहजीकरण समितिका सदस्यसमेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिएका छन् ।
कास्कीको निर्वाचन क्षेत्र नं ३ मा ५ सय ४५ आवास संख्या स्वीकृत गरिएको छ । पोखरा महानगरपालिकाका ११ वडामा १ सय ८९, माछापुच्छ«े गाउँपालिकामा १ सय ७३ र अन्नपूर्ण गाउँपालिकामा १ सय ८३ आवास संख्या स्वीकृत गरिएको छ । त्यसैगरी क्षेत्र नं १ मा रुपा गाउँपालिकामा ३ सय ७०, मादीमा २ सय ३ तथा पोखरा महानगरका ११ वटा वडामा २ सय ३३ गरी ८ सय ६ आवास स्वीकृत गरिएको छ । निर्वाचन क्षेत्र नं २ मा पोखरा महानगरका वडाहरु पर्छन् । यस क्षेत्रमा ५ सय २३ आवास स्वीकृत गरिएको छ ।
उनका अनुसार कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहले वडा कार्यालयमार्फत निवेदन माग गर्ने र वडाबाट संकलित निवेदन कार्यविधिअनुसार लाभग्राही छनोट गर्न सर्भे गरिनेछ ।
सर्भे पश्चात स्थानीय तहले लक्षित वर्ग तथा परिवारको सूची तयार गरी लाभग्राही छनोटका लागि संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीमा पठाउने र इकाइले सुरक्षित नागरिक आवास सहजीकरण समितिमा पेश गरी त्यसले अनुमोदन गर्ने कार्यविधिमा उल्लेख छ । संघीय सरकारको सहरी विकास मन्त्रालयले लाभग्राहीको अनुदान रकम सिधै स्थानीय तहमा पठाउने छ ।
प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्येक निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका सांसद सहजीकरण समितिको अध्यक्ष रहने प्रावधान छ । त्यसैगरी समन्वय समितिका प्रमुख सदस्य, निर्वाचन क्षेत्रभित्रको स्थानीय तहका प्रमुख सदस्य तथा संघीय आयोजना कार्यान्वयन इकाइ प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।
संघीय आयोजनाका प्रमुख झपटबहादुर थापाले सबै स्थानीय तहका वडाहरुमा निवेदन संकलन भइरहेको जानकारी दिनुभयो । माग र सर्भेका आधारमा यस वर्ष छुटेका लाभग्राहीलाई अर्को वर्ष अनुदान रकम उपलव्ध गराइने छ ।
लाभग्राहीलाई अनुदान रकम २ किस्तामा उपलव्ध गराइने जनाइएको छ । सम्झौता लगत्तै जस्तापाता खरीदका लागि पहिलो किस्ता ३० हजार र सम्पन्न भएपश्चात बाँकी रकम दिइने थापाले जानकारी दिएका छन् । रासस