पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे

पोखरा । पोखरा महानगरपालिकाको बजार क्षेत्रको २५ किमी मुख्य सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे सुरु भएको छ । यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुल्डी परेर वर्षेनी सडक जीर्ण भएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका तथा डिभिजन सडक कार्यालयले मुख्य सडकलाई अमेरिकी प्रविधि अस्फाल्ट विधिबाट कालोपत्रे गर्ने भएका हुन् ।

हालको पीच सडकलाई स्तरोन्नति गरी अस्फाल्ट कालोपत्रे गरिने छ । सडक ५ सेमी मोटाइको कालोपत्रे गरिएपछि सडक बलियो हुने र खाल्डाखुल्डी नपर्ने दावी महानगरको छ । सडकमा वर्षेनी खाल्डाखुल्डी परेर जीर्ण बनेको गुनासा आएपछि महानगरले कम्तिमा पनि ५ वर्ष खाल्डाखुल्डी नहुने गरी अस्फाल्ट प्रविधिबाट कालोपत्रे सुरु गरेको महानगर प्रमुख मानबहादुर जिसीले बताएका छन् ।

उनले भने, ‘विज्ञको सिफारिसमा बढी चाप हुने सडकमा अस्फाल्ट विधिबाट पीच गर्न सुरु गरेका हौं । लागत बढी पर्ने भएपनि टिकाउ हुने भएकाले यसलाई अनुशरण गरेका छौं ।’ हाल न्यूरोड र रानीपौवा क्षेत्रमा कालोपत्रेको काम भइरहेको छ । प्रमुख जिसीका अनुसार महानगरले १४ किमी तथा पूर्वाधार कार्यालय र डिभिजन सडकबाट ११ किमी हाराहारीमा सडक स्तरोन्नति गरिनेछ ।

पृथ्वीचोक, महेन्द्रपुल, केआइसिंह पुलहुँदै महेन्द्र गुफासम्मको सात किमी ४ सय मिटर सडकमा २ किमी अस्फाल्टका लागि महानगरले ठेक्का लगाएकामा बाँकीमा सडक डिभिजनबाट ठेक्का व्यवस्थापन हुनेछ । त्यसै गरी जिरो किमी हल्लनचोक शहिदचोक हुदै मुस्ताङचोक सम्मको ५ किमीमा प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले ठेक्का लगाइसकेको छ ।

महानगरले १४ किमी सडक अस्फाल्ट कालोपत्रेका लागि १७ करोड लागतमा ठेक्का सम्झौता गरिएको जनाएको छ । महानगरले गर्ने कामको जिम्मा जिम्मा इलाइट जेभीले पाएको छ ।

पृथ्वी चोक, राष्ट्र बैंक चोक, विरौटासम्म २ किमी ५ सय मिटर सडकको पनि पूर्वाधार कार्यालयले काम गर्नेछ । अमरसिंह चोक रानीपौवाहुँदै महेन्द्रपुलसम्म २ किमी ५ सय मिटरमा महानगरले ठेक्का लगाएको र काम सुरु गरिएको महानगरका वरिष्ठ इन्जिीनियर शारदामोहन काफ्लेले बताए । बुद्धचोक वन क्याम्पससम्मको २ किमीमा सडक डिभिजनले काम गर्नेछ । सभागृहचोक, न्युरोड, विपीचोक हुँदै महेन्द्रपुलसम्मको ३ किमी सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे भइरहेको छ । रासस

कमेन्टहरु
Loading...