पोखरा महानगरमा मेयरकोे असफल योजना नम्बर – ३

ऋषिकान्त पौडेल

निर्वाचित भए लगत्तै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले आम पोखरावासीलाई गज्जबका सन्देशहरु वर्षाए । भोट माग्न जाँदा स्मार्ट सिटी बनाउने सपना देखाएका मेयर जिसीले निर्वाचित भईसकेपछि एउटा यस्तो योजना घोषणा गरे की ‘पोखरालाई कुरुप देखाउने गरी सडक बिच पोलमा टाँगिएका तारको गुजुल्टो हटाएर अण्डरग्राउण्ड गरिनेछ ।’ यस्ता अनेकन चुनावी एजेण्डा अनुरुप नै जिसी कतिपय यस्ता योजना सुरु गर्न आफै सडकमा मात्रै उत्रिएनन् बिजुलीको खम्बासमेत चढ्न भ्याए ।

 

जथाभावी टाँगिएका बिद्युत, टेलिफोनका तार, केवल लगायतका तारलाई हटाएर अण्डरग्राउण्ड गर्ने योजनाकासाथ मेयर जिसी ४ नम्बर वडामा रहेको सिद्धार्थचोकमा खम्बा चढेरै तार काट्ने कामको सुरुवात गरेका थिए । जिसीको उक्त योजना सुरु त भयो तर निरन्तरता पाएन । नत जिसीले नै थप कदम चाल्न सके ।

 

सडकमा जथाभावी रूपमा टाँगिएका तारका कारण कुरूप र दुर्घटनाको जोखिम बढेपछि पोखरा महानगरपालिकाले २०७५ सालको मंसीरमा तार हटाउन सुरू गरेको थियो । अव्यवस्थितरूपमा टाँगिएका तारका कारण सर्वसाधारण मात्र हैन स्वयं महानगर पनि समस्यामा पर्दै आएको थियो । कारण सुन्दर पोखरालाई गिज्याउने गरी देखिने तारमा अड्किएर कहिले ट्रयाक्टर झुण्डियो त कहिले करेण्ट बगिरहेको तार चुँडिएर भुईमा खस्दा मोटरसाईकल चालकले ज्यान गुमाउन प¥यो । त्यस्तै ट्रान्सफर्मर पड्किएर आगलागीका घटना त सामान्य नै भए ।

स्मार्ट सिटीको अवधारणा सफल पार्न महानगरलाई कुरूप देखाउने र अनावश्यक तार हटाउन सम्बन्धित सेवाप्रदायक निकायलाई सार्वजनिक सूचना नै जारी गरेर आग्रह पनि मेयर जिसीले गरे । तर, तार व्यवस्थापनको सहजिकरण समितिमै बसेर पनि कुनै निकायले टेरपुच्छर लगाएनन्, एक–दुई पटक महानगरसँगको छलफलमा बस्नुबाहेक । एकाध छलफलपछि बितेको तीन वर्षको अवधिमा देखिने गरी कुनै काम अघि बढाईएन । यसबाट के प्रष्ट हुन्छ भने महानगर योजना सुरु गर्ने तर कार्यान्वयन नगर्ने ।

 

ताररहित सुन्दर शहरको योजना सुरु त गर्नुभयो, किन सफल भएन ? भन्ने प्रश्न गर्दा मेयर जिसी महानगर एक्लैको वशमा नरहेको प्रतिक्रिया दिएर पन्छिन्छन् । त्यसो त मेयर जिसीले तारलाई अण्डरग्राउण्ड गर्नेबारे अध्ययन गरिरहेको त्यस समयमा जानकारी दिएका थिए । तर करोडौंको घोटाला सार्वजनिक भईसकेको महानगरले उक्त अध्ययन कहाँ पुग्यो भन्नेबारे कुनै जानकारी दिएको छैन । ‘हामी पनि प्राविधिक भईएन, सहज नै होला भन्ठान्याथ्यौ, त्यसले निरन्तरता पाउन सकेन’ मेयर जिसीको जवाफ छ ।

 

दुईवटा डक्ट तान्नेबारे नेपाल टेलिकमसँग कुराकानी भएको बताउँदै मेयर जिसीले थपे ‘कि महानगरलाई रोयल्टी तिर, डक्ट हामी तान्छौ कि महानगरले रोयल्टी तिर्छ टेलिकमले तानोस् भनेका थियौ तर भएन ।’

 

विशेषतः पोखरामा नेपाल टेलिकमको तार नै बढी गुजुल्टिएका देखिन्छन् । महानगर र त्यसका नेतृत्व गर्ने मेयर जिसीले गहिराइमा नपुगी तार काट्ने हठात्को निर्णय लिएका थिए । जुन निर्णयबाट पछि हटेको संकेत मेयर जिसी अहिले गर्छन । ‘त्यसबेला छलफल गर्दा प्राविधिकरुपमा पनि सकिन्छ भने साथीहरुले, मलाई भन्नुहुन्छ भने त्यो कुरा सम्भवभन्दा बाहिरको रहेछ’ मेयर भन्छन् ‘त्यसको समाधान बरु वितरण लाईन एउटै दिने तर सबै सेवाप्रदायक निकाय जस्तै टेलिकम, केबुलवाला, विद्युतले स्पेस किन्ने नै हो ।’ स्पेस लिने अवस्थाले महानगरलाई राजस्व पनि बढ्ने र सहर पनि सफा देखिने उनको तर्क छ ।

 

त्यसो त शहरी क्षेत्रमा मुख्यरुपमा असरल्ल तार झुण्डाएको नेपाल टेलिकम नै पोखराको हालको भवन संरचनाका कारण तत्काल तार अण्डरग्राउण्ड गर्न कठिन रहेको दाबी गर्छ । नेपाल टेलिकम पोखराका प्रमुख ईन्जिनियर नरेन्द्र महर्जनका अनुसार महानगरको ताररहित शहरको योजना उपयोगी र सकारात्मक रहेपनि अहिलेको अवस्थामा जटिल रहेको बताउँछन् । योजना उपयोगी र सकारात्मक हो तर कम्प्लिकेटेड छ । अण्डरग्राउण्ड गर्दा सडक खन्ने कसले ?, प्रत्येक प्वाईन्टमा १० ओटा टेलिफोन लाईन छन् तीनलाई घरघरमा पुर्याउने कसरी भन्ने विषय एकदमै कठीन र जटील भएको पनि ईन्जिनियर महर्जन बताउँछन् ।

 

‘संरचना एकदमै साघँुरो छ, एउटा सेवाप्रदायक निकायको तार जमिनमुनि बिग्रिएर मर्मत गर्दा अर्कोमा क्षति पुगे के गर्ने ? त्यसैले यो योजना जटिल देखिन्छ’ महर्जनले भने । युटिलिटी डक्टलाई व्यवस्थित बनाएर लैजान सरोकारवाला सबै पक्षसँग छलफल गरी निश्चित कार्यविधि तयार गर्नुपर्नेमा महर्जनको जोड रहेको छ । विदेशमा त्यो प्रणाली अपनाईएको तर पोखरा मात्रै नभई नेपालमै त्यो विषय जटिल रहेको उनले तर्क गरे ।

ताररहित अभियान योजना कहाँ–कहाँ थियो ?
महानगरले पहिलो चरणमा सिद्धार्थ चोक–बिपीचोक–न्युरोड–सभागृह चोकको तार व्यवस्थित गर्ने योजना बनाएको थियो । यद्यपि, सिद्धार्थचोकभन्दा अरु स्थानमा काम नै भएन ।

 

त्यस्तै दोस्रो चरणमा बिपीचोक–साँघुको मुख–महेन्द्र पुल–नयाँ बजार–पृथ्वीचोक– सभागृहचोक, तेस्रो चरणमा सभागृहचोक–सिर्जनाचोक–जिरो किमी–हल्लनचोक र चौथो चरणमा हल्लनचोक–सहिदचोक–मुस्ताङचोकसम्मका पोलका तारलाई व्यवस्थित गर्ने गरी कार्ययोजना बनाईएको थियो ।

तार व्यवस्थित गर्न सहजीकरण समिति
तार व्यवस्थापनमा सहजीकरण गर्न महानगरका तत्कालिन सूचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार व्यवस्थापन सहजीकरण समिति गठन भएको थियो ।

 

समितिको सदस्यहरूमा नेपाल टेलिकमका शेषकान्त बस्याल, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर आनन्द सापकोटा, एनसेल नेपालका सुबोध रेग्मी, बाराही इन्टरनेटका सुरेन्द्रबहादुर थापा, जेएनआइसिटीका सोमराज गुरुङ, टेलनेट प्रालिका विनोद हुमागाईं, पोखरा केवलका मनोज गुरुङ, पोखरा इन्टरनेटका अजित तामाङ, वल्र्ड लिंक कम्युनिकेसनका विनोद केसी, महानगरका नगर प्रहरी असइ पुरुषोत्तम थापा, सूचना प्रविधि अधिकृत, पोखरा महानगरपालिका ई.अशोक द्वारे रहेका थिए ।

कमेन्टहरु
Loading...