काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताए ।
एकै प्रकारको सिलिण्डरको दर कति हो भन्ने विषयमा एकरुपता ल्याउनको लागि पनि प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिनु उपभोक्ताका लागि ठीक भएको उनको भनाई छ ।
संघले तोकेको भन्दा बढी रकम लिएमा गैरकानूनी हुन्छ ।
अहिलेसम्म उपभोक्तासँग भएका सिलिण्डरको हकमा भने आफूले खरिद गरेको पसलबाट बिल लिनुपर्ने पनि अध्यक्ष भण्डारीले स्पष्ट पारे ।
विगतमा किनिएका करोडौंको संख्यामा रहेका सिलिण्डरको बिल उपभोक्तासँग नभएकाले न्यायोचित ढंगले बिल दिने व्यवस्था मिलाउनुपर्ने अधिकारकर्मी बताउछन ।
अहिलेसम्म बिक्री भएका सिलिण्डरको बिल कसले दिने हो भन्ने सम्बन्धमा नेपाल एलपी ग्यास उद्योगसँगले समन्वयकारी भूमिका खेल्नुपर्ने देखिएको छ ।
संघको गत शुक्रबार बसेको साधारणसभाले सिलिण्डरको धरौटी तोकेको हो । तर यसअघि उपभोक्ताको घरमा पुगेका सिलिण्डरको हकमा कसरी बिल जारी गर्ने भन्ने सम्बन्धमा भने कुनै निर्णय भएको छैन ।