कास्की प्रहरीलाई निःशुल्क स्वास्थ्य शिविर

हेमजा । नेलम्बो नेपालले शनिवार जिल्ला प्रहरी कार्यालय कास्कीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

शिविरमा गण्डकी मेडिकल कलेजमा कार्यरत डा.रोशनी वास्ताकोटी, डा.सौदा थापामगर त्यस्तै नर्सहरु रुपा पुन, अञ्जली गुरुङ लगायत नेलम्बो नेपालको टिम चेकजाँचका लागि खटिएको थियो।

कार्यक्रममा धारणा राख्दै कास्की प्रहरी प्रमुख, प्रहरी उपनिरीक्षक जीवनकुमार श्रेष्ठले नेलम्बो नेपालले विषम् परिस्थितिमा पनि कुनै त्रास नमानी, स्वास्थ्य सावधानी अपनाएर शिविर संचालन गरेकोमा खुसी व्यक्त गरे।

साथै नेलम्बोले यस कोभिड १९ रोगको महामारीको समयमा पटक पटक गरेको सहयोग प्रति जिल्ला प्रहरी कार्यालय ऋणी रहेको पनि उनले बताए।

आगामी दिनमा पनि नेलम्बोसँग सामाजिक कार्यहरु गर्दा सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए।

संस्थाका अध्यक्ष एकदेव देवकोटाले जहाँ विपति त्यहाँ नेलम्बो पुग्ने गरेको भन्दै हरेक प्रकारका महामारी तथा चुनौतीमा सुरक्षा व्यवस्थापन गर्न अग्रपंतिमा खटिने सुरक्षाकर्मीको मनोवल उच्च राख्न शिविर सञ्चालन गरिएको स्पष्ट पारे ।

प्रहरी प्रमुख श्रेष्ठको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रहरी निरीक्षक कृष्ण वत्स्यालले स्वागत तथा नेलम्बो नेपालका जनसम्पर्क सुपरभाईजर भीमप्रसाद भण्डारीले कार्यक्रम संचालन गरेका थिए।

शिविरमा कुल एक सय ३० जना प्रहरी सुरक्षाकर्मीको चेक जाँच गरी औषधी समेत वितरण गरिएको थियो ।

कमेन्टहरु
Loading...