पोखरा । नेपाल राष्ट्र बैंकले जारी गरेको नीति तथा निर्देशन विपरीत पर्यटन व्यवसायीलाई किस्ता र ब्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले पोखरामा आयोजना गरेको नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिसम्बन्धी बैंक तथा वित्तीय संस्थासँग पर्यटन व्यवसायीले सो गुनासो गरेका हुन् ।
कोरोना महामारीका कारण पर्यटन क्षेत्र अति संवेदनशील क्षेत्रमा राखे पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण तथा ब्याज चुक्ताका लागि लगातारको दबाबले समस्यामा पारेको व्यवसायीको गुनासो छ । व्यवसायीको गुनासो आएपछि नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक ईश्वरीप्रसाद भट्टराईले मौद्रिक नीतिका आधारमा रहेर काम गर्न बैंक तथा वित्तीय संस्थालाई सो क्रममा निर्देशन दिएका छन् । उनले भने, ‘सक्ने उद्यमीले कर्जा तिरिदिनुहोस्, नसक्ने उद्यमीको हितका लागि सरकारले दिएको सीमासम्म ताकेता नगर्नुहोस् ।’
नेपालमा बैंक तथा वित्तीय क्षेत्रको पर्यटन क्षेत्रमा मात्रै १ सय ४० अर्ब लगानी रहेको भन्दै भट्टराईले यसलाई जोगाउने दायित्व सबै पक्षको रहेको बताए । उनका अनुसार गण्डकी क्षेत्रमा क, ख, ग वर्गका मात्र ७ सय २६ वटा शाखा छन् । प्रत्येक शाखाले कम्तीमा ५ जनालाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्नेछ । सोअनुरुप आवश्यक प्रक्रिया गर्न सुझाव दिँदै उनले अतिप्रभावित व्यवसायीलाई ऋण उपलब्ध गराउन सकिने बताए ।
नेपाल बैंकर्स एसोसिएसन गण्डकीका अध्यक्ष दीपेन्द्र शर्माले बैंकले फोन गरे भन्दैमा आतंकित नहुन व्यवसायीलाई आग्रह गरेका छन् । उनले बैंकले उपाय खोज्नका लागि ऋणीसँग आवश्यक सल्लाह सुझावका लागि फोन आएको हुनसक्ने धारणा राखे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटन क्षेत्रको लगानी डुब्दा बैंक तथा वित्तीय क्षेत्र पनि डुब्ने सम्भावना रहेकाले व्यवसायीलाई आतंकित पार्न नहुने बताए । नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिअनुरुप सेवासुविधा व्यवसायीले लिन नसकेको बताएका छन् ।
पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटन क्षेत्रलाई कृषि क्षेत्रमा दिइने व्याजदरअनुरुप ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । पोखराको समग्र पर्यटन क्षेत्रमा ४ खर्बको लगानी रहेको पर्यटन व्यवसायीको भनाइ छ । त्यसमा करिब ७५ अर्ब बराबर बैंक तथा वित्तीय संस्थाको लगानी छ । रासस