लहान । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि १ साताका लागि बन्द गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म ८ जनामा कोभिड–१९ को संक्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको जानकारी दिएका छन् ।
गत असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा संक्रमण देखिएको र ३ प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा १ जनामा संक्रमण लक्षण र अन्य २ सहित ८ जनामा कोभिड–१९ संक्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्न आजदेखि असोज २४ गतेसम्मलाई अतिअवाश्यकबाहेकका सेवा बन्द रहने प्रजिअ कँणेलले बताएका छन् ।
अति आवश्यक नपरी सेवा लिन नजान, जानै परेमा २ मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन प्रजिअ कँणेलले सबैसँग आग्रह गरे ।
वडाध्यक्षविरुद्ध मुद्दा
सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय १ महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिएका छन् । वडाध्यक्ष मियाँविरुद्ध मुद्दा दर्ता भएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । यसबारे वडाध्यक्ष मियाँसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । रासस