बनेपा । रोशी गाउँपालिका वडा नं ९ का कुमार लामाले पिन्थलीवेँशीमा ठूलो दूई वटा पोखरी बनाएर माछा पाल्न थालेका छन् । करिब ८ लाखमा माछापालनको संरचना निर्माण पश्चात अहिले सो पोखरीमा माछाका भुरा हालेर हुर्काउने काममा उनी व्यस्त छन् ।
बजार क्षेत्र ठूलो भएको र त्यहाँ अरु त्यस्तो व्यवसाय नभएपछि माछापालन शुरु गरेको लामाले बताए । सो व्यवसायमा दुईमहिनादेखि दुई जनाले रोजगारी पाएका छन् । उनीहरुको काम माछालाई दाना दिने, पानीको कुलो बनाउने र चरा धपाउने हो । यसअघि बनेपामा निर्माण मजदूरी गर्ने विमला लामा माछा पालन शुरुपछि काम गर्दै आएको बताउछन् ।
कुमार मात्रै होइन त्यसरी माछा पाल्नेमा सोही गाउँपालिका वडा नं ७ का भीम लामा र वडा नं ११ का बलराम आलेमगरले पनि व्यावसायिक माछापालन शुरु गरेका छन् । रोशीमा अहिले पिन्थलीवेँशीमा रहेको पोखरीमा ४० हजार माछाका भुरा हालेर माछापालन शुरु गरिएको छ ।
संरचना निर्माणगरेसँगै पोखरीको क्षमताको आधारमा माछाको भुरा उपलब्ध गरिदिएको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए । त्यस्तै वडा नं ७ को चारसय फाँटमा ४० हजार र वडा नं ११ मा १२ हजार माछाको भुरा उपलब्ध गराएको पालिका अध्यक्ष लामाले बताए ।
गाउँपालिकाले अनुदान दिएपछि यहाँ माछापालन व्यवसाय बढेको हो । पालिका अध्यक्ष लामाका अनुसार माछापालक कृषकमध्ये माछाको भुरासहित कुमार लामालाई ३ लाख ५० हजार र बलराम आलेमगर र भीम लामालाई जनही २ लाख ५० हजारका दरले नगद अनुदान प्रदान गरिएको छ ।
गाउँपालिकाले स्थानीय कुखुरा, मौरीपालनको लागि घार र उन्नत जातको बाख्रापालनलाई अनुदान दिँदै आएको गाउँपालिका अध्यक्ष लामाले बताए ।
रासस