पीडितको आवाजः सरकार ! जिम, सैलुन, सिनेमा र पार्लर कहिले खुल्छ ?

रिना थापा

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण्का लागि जारी गरेको लकडाउन अन्त्य भएसँगै मानिसको जीवन विस्तारै सामान्य लयतर्फ फर्किंदै छ । विगत ६ महिनादेखि ठप्प बनेका व्यवसायी सञ्चालन गर्न सरकारले अनुमति दिएसँगै बजारमा मानिसको चहलपहल सामान्य अवस्थामा फर्किएको हो । यद्यपि सरकारले केही क्षेत्रमा भने अझै प्रतिबन्ध लगाएको छ ।

लकडाउनका कारण महिनौं आर्थिक कारोबार र व्यवसाय सञ्चालन गर्न नपाएर मर्कामा परेका गुनासो आएसँगै सरकारले व्यवसायीको समस्यालाई सम्बोधन गरेको हो । गत महिनाको भदौ २१ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग व्यवसायसँगको भेटवार्तामा व्यवसायीलाई समस्यामा फस्न नदिने बताएका थिए ।

त्यसलगत्तै भदौ २९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफनो निर्णय सार्वजनिक गर्दै असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय भएको जानकारी दिएको थियो । तर व्यवसायीलाई समस्यामा फस्न नदिने भन्दै प्रतिबद्धता गरेको सरकारले केही व्यवसायीलाई भने आफनो औंला गन्न छुटायो ।

अर्को निर्णय नहुञ्जेलसम्म सरकारले जिमखाना, सिनेमा घर, चिडियाखाना, शैलुन, स्पाजस्ता व्यवसाय सञ्चालन गर्न नपाइने भन्दै एकथरी व्यवसायलाई भने उहीं समस्या छाड्यो । सरकारले होटल सञ्चालनदेखि आन्तिरक हवाई उडान सुरुआत गरे पनि व्यवसायीलाई सरकारले रोक लगाएको हो ।

जसले गर्दा यी व्यवसायी अझै मर्कामा छन् । गुरुङ ब्युटी पार्लर एसोसियसनकी सञ्चालक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको महिला उद्यमी समितिको केन्द्रीय सदस्य चिनु गुरुङ सरकारले आफ्नो व्यवसायलाई पक्षपात गरेको बताउँछिन् । उनले ब्युटीपार्लर अरु व्यवसायभन्दा अन्यायमा परेकोमा दुखेसो व्यक्त गरिन् ।

‘सेवा उद्योगलाई अन्यायमा पार्दा हामी आक्रोशित छौं, निश्चित मापदण्ड पालना गरेर खोल्छौं भन्दा किन नपाउने रु विगत साढे ६ महिनामा कति घाटा भएको छ, त्यो हामीलाई मात्र थाहा छ ।’ उनले भनिन् ।

पोखरामा स्पा, पार्लरमा रोजगार र स्वरोजगार गरि १ हजारभन्दा बढी संख्या प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभावित बनेको छ । व्यवसाय बन्दका कारण आयस्रोतको माध्यम नहुँदा उनीहरुले आर्थिक मार खेप्नुपरेको छ । बैंकले कर अनि ब्याज यता घरधनीले घरबहाल लिने गरेको हुँदा पनि थप समस्या उत्पादन भएको हो ।

गुरुङका अनुसार यतिबेला ब्युटिपार्लर एसोसियसनभन्दा पनि सलुन व्यवसाय बढी मर्कामा परेका छन् । ‘यतिबेला सलुन चलाउने एकदम मर्कामा छन् । हाम्रो समस्याभन्दा उनीहरुको अझै अप्ठ्यारो परिस्थतिमा छन् । सरकारले साना व्यवसायलाई सम्बोधन गर्न जरुरी छ ।’ उनले भनिन् ।

पछिल्लो समय ब्युटीपार्लर र सैलुन चलाउनेलाई प्रहरी प्रशासनबाट अमानविय व्यवहार गर्ने र डर धम्की देखाउने व्यवसायी बताउँछन् । त्यसमा सबैभन्दा बढी सैलुन व्यवसायलाई अभद्र व्यवहार भएको उनीहरुको गुनासो छ ।

यता नेपाल नाइ संघ कास्कीका अध्यक्ष विभुलाल ठाकुर सरकारको अपरिपक्क निर्णयले आफूहरु मारमा परेको बताउँछन् । ‘सबै व्यवसाय खोलेका छन् । हाम्रो किन नखोल्ने रु सुरक्षित रहेर काम गर्छौं भन्छौं, तर साना व्यवसाय भनेर नसुनेको हो ।’ उनले भने ।

कोरोनाको महामारी पहिलेदेखिनै आफुहरुले सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्दै आइरहेको थिए । अहिले उनीहरु स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफूहरुले सञ्चालन गर्न तयार छन् ।

त्यस्तै सरकारले यतिबेला फिल्म हल पनि सञ्चालन गर्ने अनुमति दिएको छैन । पोखरामा ६ वटा फिल्म हल रहेका छन् । पोखरा मिड टाउन ग्यालरीका सञ्चालक उत्तम दुवाका अनुसार फिल्महल सञ्चालनमा आउन नसक्दा मासिक ५० लाख बढी नोक्सान भइरहेका छ । ‘समस्या त परेको छ । तर सायद अब सरकारले अन्य देशमा पनि सञ्चालन नगरेको देखेर गर्न नदिएको हुन सक्छ ।’ उनले भने । तर हामी एकदम मर्कामा छौं । मापदण्ड पुरा गरेर चलाउछौं भन्दै पत्रचार गरेपनि सरकारले सुन्दैन ।’ उनी गुनासो गर्छन् ।

व्यवसाय सञ्चालन गर्दा कोरोनाको सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर सञ्चालन गर्न उनीहरु राजी छन् । तर सरकारले यसप्रति ध्यान दिएको छैन ।

पार्लर एसोसियसनदेखि नेपाल ब्युटिसियन संघ गण्डकी प्रदेश, नेपाल युथ सलोन एसोसिएसन कास्की र नेपाल नाइ संघ गण्डकी प्रदेश र कास्कीका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा ३ पटक पत्रचार गरिसकेका छन् । उनीहरुले शान्तिपूर्ण धर्ना समेत दिएका छन् । तर यसप्रति सरोवारवाला सरकारको अर्को निर्देशन नआएसम्म आफूहरुले केही गर्न नसक्ने जवाफ आउने गरेको छ ।

कमेन्टहरु
Loading...