पोखरा महानगरमा मेयरको असफल योजना नम्बर – १

ऋषिकान्त पौडेल

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गत साल भदौ २५ गते तामझामकासाथ महानगरभित्र सार्वजनिक यातायातमा मेट्रो कार्ड प्रयोग हुने सगर्व घोषणा गरे । जसअन्तरगत उक्त दिन १३ वटा नगरबसमा मेट्रो कार्ड प्रयोग हुने बताइयो ।

 

मेयर जिसी, उपमेयर मञ्जुदेवि गुरुङलगायत बस कम्पनीका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा भनिए अनुसार ३ दिनपछि अर्थात भदौ १ गतेदेखि उक्त कार्ड प्रयोग हुने बताइयो । पोखरालाई स्मार्ट सिटी बनाउने घोषणाअनुरुपको सुरुवात भएको भन्दै नगरवासी खुशी भए । नगरभित्र चल्ने बसमा सिस्टम पनि जडान भयो । केही विद्यार्थीहरुलाई कार्ड वितरण पनि गरियो । तर निरन्तरता हुन सकेन ।

 

हतारमा कागजी निर्णय र निर्णय अनुसारका योजना कार्यान्वयनमा फितलो व्यवस्थापन पोखरा महानगरको पुरानै समस्या हो ।स्मार्ट सिटीको नारालाई सार्थकता दिन सुरु गरेको सार्वजनिक यातायातमा विद्युतीय टिकेट अर्थात ई–टिकेट प्रणाली पनि सुरुवातको दुई महिनामै अस्तव्यस्त बन्नु महानगरको उक्त समस्याको प्रतिफल बनेको छ ।

 

चुनावका समयमा स्मार्ट सिटीको नारा घन्काएका राजनीतिक दलका नेता जनप्रतिनिधिकारुपमा निर्वाचित भईसकेपनि उक्त नाराका लागि गरिएका कतिपय प्रयास सुरु नै भएका छैनन् भने सुरुवात गरिएका क्षेत्रमा पनि प्रभावकारिता देखिएको छैन । गत सालको बैशाखदेखि कार्यान्वयनमा ल्याउने भनिएपनि पोखराका बसहरुमा विद्युतीय टिकट प्रणाली त्यसको पाँच महिनापछि मात्रै सुरु भएको थियोे । तर उक्त योजना डेढ महिना पनि टिकेन ।

 

आफैले सुरु गरेको स्मार्ट योजना एक–डेढ महिनामै असफल बनेपछि महानगर भने नेपाल टेलिकमको थ्रीजी सेवा र बसका कर्मचारीलाई दोष थुपार्ने गरेका छन् । पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेलका अनुसार स्मार्ट कार्ड ह्याङ्ग हुने कारण उक्त योजना सफल नभएको हो । कार्डमा समस्या आएपछि सफ्टवेयर कम्पनि एनक्लाउडलाई ताकेता गरेपनि निरन्तरता हुन नसकेको जानकारी पौडेलले दिए । स्मार्ट कार्डबाट ई टिकेटीङ प्रणाली कार्यान्वयनका लागि बस ब्यबसायी समिति, पोखरा महानगरपालिका र एनक्लाउडबिच त्रीपक्षीय सम्झौता भएको थियो ।

 

कार्डमा समस्या आएको भनिएपनि उक्त योजनामा संग्लग्न सबैको कमजोरीका कारण सफल हुन नसकेको योजनाको एक भेन्डरका रुपमा रहेको सफ्टवेयर कम्पनी एनक्लाउडले दाबी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्रनारायण श्रेष्ठका अनुसार आफुहरुले बसका कर्मचारीसँग रहने मेसिनमा जति रकम पनि ईन्ट्री गराउन मिल्ने बनाएको तर पोखरामा कहाँबाट बस चढ्ने र ओर्लने भन्ने सुनिश्चितता नहुँदा समस्या उत्पन्न भएको बताए ।

 

‘पोखरा महानगरपालिकाले बस स्टेशन कायम गराउनुपर्ने, बसको रुट तय गर्नुपर्ने तयारी थालेको भन्ने बुझेको छु । यदि त्यसो हुन सकेमात्रै स्मार्ट कार्डको योजना सफल हुन सक्छ नत्र असफल प्रोजेक्टकै रुपमा यो रहनेछ’ श्रेष्ठले भने । उनले छिट्टै पोखरा आएर फेरी २–४ वटा बसमा ई–टिकेट प्रणाली सुरु गरेर चरणवद्ध रुपमा काम गर्ने पनि जानकारी दिए । ‘अघिल्लो पटक नयाँ पनि भयो’, एकैचोटी धेरै बसमा काम सुरु गरीयो त्यसैले असफल नै भयो भनेपनि हुन्छ अब भने थोरै बसबाट बिस्तारै फेजवाईज रुपमा काम गर्छौ’ श्रेष्ठको भनाई छ ।

 

विद्युत्तिय टिकेट अर्थात ई–टिकेट प्रणाली पोखराका ७ सय ६५ ओटा सार्वजनिक बसमा जडान गरीएको थियो । त्यस्तै पोखरामा हाल कम्तीमा १० हजार जना यात्रुसँग उक्त स्मार्ट कार्ड रहेको छ । पोखरा महानगरपालिका भित्रे करीब ८०० सवारी साधन चल्छन् । महानगरले मेट्रो कार्ड सुरु गर्ने योजना अनुरुप ४ वर्ष भित्रमा ३ लाख स्मार्ट कार्ड वितरण गरी पोखरालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने लक्ष्य राखेको थियो ।

 

यता बसका कर्मचारीहरु भने विद्युतीय टिकट प्रणालीको प्रयोग झन्झटीलो, मेसिन बिग्रिहाल्ने समस्या र बैंकमा रकम जम्मा हुन ढिलासुस्ती जस्ता समस्या रहेको बताउँछन् । पोखरा नगरभित्र चल्ने एक बसका कर्मचारी अजित बिकले भने – ‘यो सारै झञ्झटिलो रहेछ । मेसीन पनि बिग्रीहाल्ने र बैङकमा रकम जम्मा हुन पनि टाईम लाग्ने ।’

 

महानगरलाई स्मार्ट सिटी बनाउने अधिकाशं राजनितीक दल र जनप्रतिनिधीको मात्र नभई आम पोखरेलीको पनि चाहना हो । तर बसमा बिद्युतीय टिकेट लागु गर्ने योजना असफलतातर्फ उन्मुख भईरहेको अवस्थामा मुख्य सरोकारवाला निकाय पोखरा महानगरपालिकाले अन्य जतिसुकै स्मार्ट योजना अघि सारेपनि सफल कार्यान्वयनका लागि विश्वास गरिहाल्ने अवस्था नरहेको उदाहण ई–टिकेटिङ बनेको छ ।

कमेन्टहरु
Loading...