- शेखर गौतम
विश्व स्वास्थ्य क्षेत्रलाई चुनौती दिँदै कोरोना भाइरस मानवका निम्ति परिक्षाको रुपमा खडा भएको छ । करोडौं रोगबाट विक्षिप्त छन् । लाखौं स्थायी चीर निन्द्रामा । नेपाल पनि यो संकटबाट अछुतो रहन सकेन । ४ महिने लकडाउनको नमिठो स्वाद चाख्दै १ जनाबाट लाख नजिक हामी संक्रमित भएर हजारलाई छुनै नपाउने गरि बिदा ग¥यौं । तर जीवन निर्वाहमा कुठाराघात लाग्दा समेत बेतुकमा सडकमा बहादुरी देखाउँदै लखरलखर बरालिन छाडेनौं । चीनको कोरोना हाम्रोमा आउनै सक्दैन भन्दै हिँड्ने हाम्रो कमजोर बुझाइ अहिलेको जटिल अबुझ चेतना भनौं या हेलचेक्र्याईं । यस्तो व्यक्तिवादी चिन्तनले समाज रुपान्तरणको के नै सम्भावना हुन सक्छ ?
यति मात्र होइन स्तब्ध रोजगार, शिक्षा, खाद्यान्न, स्वास्थ्य, कृषिका कारण देशको अर्थतन्त्र डामाडोल बन्न पुगेको छ । शिक्षाको जटिलताले अहिले जति सहज रुपमा व्यवस्थापन गरिन्छ भनिए पनी वास्तवमै दुरगामी रुपमा ठूलो शैक्षिक संकट निम्तिनेमा विज्ञ प्रष्ट छन् ।
‘शिक्षा सिकाइका लागि, सीप विकासका लागि र समृद्धि परिवर्तनका लागि’ । यसैका लागि मानिस जन्मदेखि मृत्युसम्म निरन्तर जुधिरहेको हुन्छ । सिकाई फगत लगानीमा मुर्त रुप तब देखिदैन जब उत्पादन सग जोडिदैन । आजको उत्पादन विकास र समृद्धिका लागि यहि मुलमन्त्रलाई आत्मसात गर्दै जनता केन्द्रित शिक्षा हिजो आज र भोलि विकसित भइरहेको छ भन्ने बुझ्न सकिन्छ ।
प्रारम्भमा राज्यबाट करिब ११.६४५ प्रतिशत ढुकुटी शिक्षामा लगानी भएको देखिन्छ । प्रति विद्यार्थी दसौं हजार रकम प्रति महिना लागत छ । उत्पादनको हिसाबमा यो ज्यादै महँगो रहेको विभिन्न सर्वेक्षणले बताएको छ । राज्यले जति लगानी गरेको छ, सो अनुरुप हामी श्रम बजारमा निस्कन सकेका छैनौं । हामीले लिन खोजेको शिक्षा र राज्यले दिन खोजेको शिक्षामा कुनै तालमेलनै खाँदैन । हामी अझै अकबर र बिरबल, कन्जुस बुढी र चलाख बटुवाको कथामै किशोरावस्था बिताउने मात्र हैन, राज्यको लगानी पनि मुस्लो निस्के झै खन्याएका छौं । यो शिक्षाबाट भोलिको समाज कस्तो बनाउने ? हामी अझै अनुशासन र व्यवहारिकताको मात्र शिक्षा आर्जन गर्ने कि व्यवसायिकसंग जोडिने शिक्षा ग्रहण गर्ने ? के विदेशी शिक्षा र छिमेकीसंग आश्रित हुने ? अझै आफ्नो घरको नक्सा बनाउने शक्ति छिमेकबाट झिकाउने हो ? यस्तो खालको शिक्षा प्रणालीबाट बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री बाहेक केही हुने छाँट छैन । हाम्रा विद्यार्थी संगठनको अहिलेको काम सरुवा, बढुवा, सरकारको वकालत, नेताको चाकडी जस्ता गतिविधिले काम गर्ने फुर्सद नहुँदा शैक्षिक क्षेत्रमा बेथिति पैदा भएको छ । यस्तै हो भने सडक कालोपत्रे गर्ने श्रमिक पनि बन्ने क्षमता र दक्षता हामीसँग हुने छैन ।
केही दिन अगाडि प्रकाशित एसइई परीक्षाको नतिजा आफैंमा आश्चर्य र पश्चाताप लाग्ने गरेर आएको छ । जहाँसम्म म गलत छैन भने राज्यको उदासीनतामा विगतदेखि निजी शैक्षिक संस्थाले चेप्दै र अटेर्दै आएको हविगत अहिलेको नतिजामा देखिएको छ । विगतको नतिजा स्तम्भ हेर्ने हो भने २०७२ मा २ जना २०७३ मा ४ जना २०७४ मा ७४ जना २०७५ मा १ सय ६ जनाले जिपिए ४ ल्याएका थिए भने अहिले सो मुल्यांकनको अधिकार पाएका छोटे राजनहरुले ९ हजारको संखयाका विद्यार्थीलाई ४ जिपिए दिएर आफ्नो शैक्षिक संस्था अब्बल रहेको प्रमाणित गराउँदै विचारा विद्यार्थीहरुको थाप्लोमा थाम्नै नसक्ने भारी बोकाउन सफल भए ।
“यस्तो व्यथितिबाट शिक्षित विद्यार्थीले के नतिजा दिने हुन्, अचम्म लाग्छ । नियमनकारी निकाय मुकदर्शक बन्नु, कारवाही गर्ने तागत नराख्नु, दण्डहीनता यसका मुख्य कमजोरी हुन् । जो सामन्ती शिक्षाको मतियार छ उही सरकारी तालुक अड्डाको महत्वपूर्ण हिस्सा बन्ने गरेको छ । उसले आफ्नो निजी संस्थाको स्तरमा ध्यान दिन्छ कि सामुदायिक विद्यालयमा निशूल्क र गुणस्तरीय पढाउने अभियानको अभियन्ता बन्छ ? जहाँसम्म आफ्नो घरमा आगो सल्काएर खरानीको टीका लगाएर हिड्दैन होला ।”
कठ्ठै सामुदायिक विद्यालयले विद्यार्थीको स्वअनुरुप पूर्णांक समावेश गरि पठाउने तागत राखेनन् । किनकी आफैंले पढाएको विश्वास नलागी छोराछोरी निजीमा पढाएका जो छन् । अनि निजी शैक्षिक संस्थाले नेतृत्व र पार्टी चलाएको खुलेआम दम्भ देखाउँदै पुणांक चढाउनु कुनै नौलो विषय रहेन । त्यसैले अहिलेको स्वयं मुल्यांकन प्रणाली धेरैलाई चित्त बुझ्दो नलागेको सामाजिक सन्जाल र भेटघाटबाट प्रष्ट बुझ्न सकिन्छ ।
अहिले बुझे अनुसार ३ महिना भयो होला अनलाइन नाम दिएर आफ्नै ठेक्का सम्झी पढाइएका विद्यार्थीको हविगत ज्यादै डर लाग्दो छ । शिक्षकको न पढाउने शैली, न त शिक्षा ग्रहण गर्न सक्ने क्षमता विकास गर्न सकेका विद्यार्थी । यस्तो चपेटामा परेका अभिभावक ब्याजमा पैसा खोजी हजारौं रुपैयाँ स्कुलमा बुझाउदै मोबाइल पसलमा बीसौं हजारको मोबाइल किन्दै दैनिक सयौं रुपैयाँको डाटाबाट पढाउँदाको पीडा त्यो परिवारलाई मात्र थाहा हुन्छ, जो जीवन धान्न धौ–धौ छ । आलिसान महललाइ के थाहा झुपडीको व्यथा ? मासिक पाँचौं हजार शुल्क तिर्न नसक्ने अभिभावक अहिले थप मारमा परेका छन् । त्यति मात्र होइन, डाटाबाट राम्रोसंग पढाई नहुदा र एकै परिवारको अर्को विद्यार्थीको कक्षा जुधेपछि घर झगडाले गाँजेको छ ।
यस्तो व्यथितिबाट शिक्षित विद्यार्थीले के नतिजा दिने हुन्, अचम्म लाग्छ । नियमनकारी निकाय मुकदर्शक बन्नु, कारवाही गर्ने तागत नराख्नु, दण्डहीनता यसका मुख्य कमजोरी हुन् । जो सामन्ती शिक्षाको मतियार छ उही सरकारी तालुक अड्डाको महत्वपूर्ण हिस्सा बन्ने गरेको छ । उसले आफ्नो निजी संस्थाको स्तरमा ध्यान दिन्छ कि सामुदायिक विद्यालयमा निशूल्क र गुणस्तरीय पढाउने अभियानको अभियन्ता बन्छ ? जहाँसम्म आफ्नो घरमा आगो सल्काएर खरानीको टीका लगाएर हिड्दैन होला ।
नेतृत्वले भाषणमा भन्दै गरेको दुई खाले शिक्षा नीतिले अहिले साकार रुप पाएको छ । एउटा क्वारेन्टाइन बनेको विद्यालयको गेटबाट रित्तो कापी बोकेर घर फर्केको विद्यार्थी, अर्को अनलाइनबाट निजी शैक्षिक संस्थाले पढाएको प्रणाली दुवै विभेदकारी छ, जुन राज्यको लागि उत्तिकै घातक पनि छ । साँच्चिकै कुनै विद्यार्थी खाली मस्तिष्कमा छैन, स्वतन्त्ररुपमा सैतान बन्दै गरेको विद्यार्थी र अनलाइनबाट शिक्षक र अभिभावकको चेपुवामा परेको कर्णधार भोलि राज्यका लागि घातक नबन्ला भन्न सकिन्न । यसलाई पहिचान गरि समयमै उपचार नगरे राष्ट्रका निम्ति कोरोनाभन्दा भयावह भएर उदाउने छ । आघात लागेको बालमनोविज्ञानलाई समयमै मलम लगाउनु अनिवार्य छ ।
विश्व स्वास्थ्य संगठनले तत्काल स्कुल कलेजमा भौतिक उपस्थिति नगर्ने गरी अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न पाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रियस्तरमा धेरै विश्वविद्यालयले आन्तरिक मुल्यांकनबाट नै बोर्ड नतिजा प्रकाशित गरेको समाचार आएका छन् । तर नेपाल यस्ता बुद्धिजिवी भएको देश हो, जहाँ खचाखच भरिएको बसमा उभिएर पनि देशको विकास र समृद्धिको बारेमा कुरा गर्न भ्याएकै हुन्छन् । एसइईको नतिजाबाट हौसिएका अभिभावक र विद्यार्थीलाई राम्रो वातावरणमा हुर्काउनु आजको आवश्यकता हो । अब उपल्लो तहको परीक्षाको आन्तरिक मुल्यांकन प्रणालीको बारेमा तत्काल निर्णय लिन सकिएन भने निश्चित छ, विद्यार्थीको मात्र होइन, देशकै भविष्य कम्तीमा १० वर्ष पर धकेलिनेमा कुनै शंका छैन ।
मन्टेश्वरीदेखि कक्षा १२ सम्मको अनलाइन पढाइको बारेमा धेरैलाई राम्रैसंग थाहा छ, कुन विधिबाट पढाउने भन्ने । तर अनलाइन कक्षा विधिमा पूरा समय विद्यार्थीलाई बोल्नै नदिएरै एकोहोरो शिक्षण गराउने र गृहकार्य दिएर समाप्त गर्ने गरिएको छ । त्यहाँ कुनै विद्यार्थीको रुचि र चाहना के छ बुझ्न खोजिदैन । औपचारिकतामा मात्र सीमित गरिएको छ । के यो विधि उचित हुन सक्छ ? हामी अभिभावकले सोच्ने गरेका छैनौं । विद्यार्थी थपक्क बसेर पढिदिए हामी खुसी हुन्छौं । वास्तवमा यो विधि गलत छ, मन्टेस्वरीदेखि १ सम्मका विद्यार्थीलाई आफ्नो साथीहरूको बढी नै याद आउने र चुलबुले उमेर हुने भएकाले स्कुलको समन्वयमा भिडियो कलमार्फत् हल्ला र गफ गर्न दिने विधि नै सबैभन्दा उपयुक्त हुन्छ । उनीहरुको मानसिक विकासको निम्ति उपयोगी हुनेछ ।
तर यसो गरेको पाइएको छैन । भाइबरबाट गृहकार्य पठाएर पढाइ शुल्कको बिल पठाइएको छ । अर्को कक्षा २ देखि ५ सम्मका बालबालिकालाई कम्तीमा आधा घण्टा आफ्नो साथीसंग गफ गर्न दिने र उनीहरुको इच्छा भएमा सामान्य विषय बढीमा आधा घन्टा पढाउने गर्नुपर्छ । कक्षा ६ देखि ८ सम्मका बालबालिकालाई खोज र छलफल विधिबाट बढीमा आधा घन्टा पढाउने र बीचमा १ घन्टाको विश्राम अवधी राखेर पुनः सञ्चालन गर्न सकिने छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई आवश्यकता अनुसारको पढाई पढाउने र छलफल विधि सबैभन्दा उपयुक्त हुनेछ । बीचमा कम्तीमा १ घन्टाको विश्राम समय राखेर कक्षा कार्य र गृहकार्य दिएर पढाउन सकिन्छ । यदि कुनै स्कुलमा पहिलेबाट पढ्दै आएको विद्यार्थीको अनलाइन पहुँच नभए उसको लागि स्कुलले छुट्टै कक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ । हामिले के बुझ्न जरुरी छ भने मात्र कक्षा ६ देखि माथिल्लो कक्षाका विद्यार्थींसग पढाई शुल्क मात्र बढीमा ५ सय ५ लिन सकिने छ । तर धेरै स्कुलले बस र खाजा शुल्कलाई घुमाउरो भाषामा कर्मचारी शुल्क पनि जोडेर बिल पठाउने गरेका छन् । सम्बन्धित निकायमा पहिल्यै जानकारी गराउँदा पनि कारवाहीको कुनै छाँटकाट देखिदैन ।