कैलाली । कैलालीमा धान बीजवृद्धि खेती गरेका कृषि सहकारी धान खेतमा रगिन गरिरहेका छन् । बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रहेको तयारी धान बालीमा रगिन गर्न थालेका हुन् ।
कैलालीको जानकी गाउँपालिकास्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष १०९ हेक्टर क्षेत्रफलमा विभिन्न जातका धानको बीजवृद्धि खेती गरेको छ । सहकारीले प्रत्यक्ष निगरानी र सुपरीवेक्षणमा गुणस्तरीय बीउ उत्पादन गर्ने गरेको छ ।
गुणस्तरीय बीउअन्तर्गत जातीय शुद्धताका लागि सहकारीले पाक्न थालेको बिजवृद्धिका लागि खेती गरिएको तयारी बालीमा दैनिक एक समूह परिचालन गरेको छ । तालिमप्राप्त समूहले धानखेतीमा पस्ने र बेजात धानका बाला निकाल्ने काम गरिरहेको सहकारीका प्रबन्धक गोविन्द रावतले बताए ।
गुणस्तरीय बीउमा जातीय शुद्धताका लागि अपनाइने कार्यलाई रगिन भनिन्छ । रगिन गर्दा खडा धानबालीको तयारी अवस्थामा खेतमै कृषि प्राविधिकको प्रत्यक्ष संलग्नता, निरीक्षण र सल्लाहबमोजिम गरिन्छ ।
सोही आधारमा ४५ हेक्टर बालीमा नमूना बहुउद्देश्यीय सहकारी संस्थामार्फत दक्ष किसानसहितको टोलीले धानको बीजवृद्धिका लागि धान खेतमा रगिन गरिहेको सहकारीका अध्यक्ष जीतबहादुर चौधरी बताउछन् ।
यी कृषि सहकारीजस्तैै यस क्षेत्रका अन्य बीउ उत्पादक कृषि सहकारीले पनि रगिनको कार्य गरिरहेका छन् । गुणस्तरीय बीउमा शतप्रतिशत जातीय शुद्धता नहुने भएकाले रगिन गर्नुपर्ने हुन्छ ।
बीउ उत्पादनका लागि गरिने बालीको कम्तीमा दुई पटक रगिन गरिनु अति आवश्यक छ । रगिन बाली पसाउनुपूर्व र बाली तयारीपूर्व गरिन्छ । यसरी रोपिएको जातमा बेजात बाली मात्र हटाउनेसँगै विभिन्न झारपात हटाउने कार्य गरिन्छ ।
बीउमा शुद्धता हुने भएकाले कृषि प्राविधिक वा दक्ष कृषकले मात्र रगिन गर्नुपर्ने कृषि विज्ञको सुझाव छ ।
कैलालीका बिजवृद्धि सहकारीले उत्पादन गरेको बीउ देशैभरि बिक्री हुने गरेको छ । यहाँका सहकारीले कैलालीसहित बुटवलसम्म बीउ बिक्री गर्ने गरेका छन् । कैलालीमा दर्जन बढी सहकारीले बीजवृद्धिका लागि खेती गर्दै आएका छन् ।
रासस