मागभन्दा उत्पादन बढी

तनहुँ । तनहुँ जिल्लामा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी भएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ जिल्ला दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्न सफल भएको हो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा दूध, अण्डा र मासुको मागभन्दा उत्पादन बढी भइरहेको जनाएको छ । केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०७५र७६ को तुलनामा २०७६र७७ मा दूध, अण्डा र मासुको उत्पादन वृद्धि भएको जानकारी दिए ।

डा श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६र७७ मा ५० हजार ६ सय ८१ मेट्रिक टन दूध, एक करोड ६२ लाख ९४ हजार गोटा अण्डा र चार हजार ६ सय ८८ मेट्रिक टन मासु उत्पादन भएको छ ।

आव २०७५र७६ मा ४९ हजार ५ सय ४३ मेट्रिक टन दूध, एक करोड ५२ लाख ५७ हजार गोटा अण्डा र चार हजार ५ सय ५८ मेट्रिक टन मासु उत्पादन भएको थियो । जिल्लामा २९ हजार ४ सय १९ मेट्रिक टन दूधको माग भए पनि मागभन्दा २१ हजार २ सय ६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ ।

चार हजार ५ सय २६ मेट्रिक टन मासुको माग भए पनि १ सय ६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ भने एक करोड ५५ लाख १७ हजार गोटा अण्डाको माग भए पनि सात लाख ७६ हजार गोटा बढी उत्पादन भइरहेको छ ।

विज्ञ केन्द्रका अनुसार तनहुँमा उत्पादित दूधमा भैँसीको योगदान बढी रहेको छ । जिल्लामा एक लाख ४० हजार ७ सय ४७ भैँसी, ९६ हजार ६ सय ८ गाईपालन गरिएको छ ।

त्यस्तै ८ सय ९३ भेडा, पाँच लाख १२ हजार २४ बाख्रा, पाँच लाख ४८ हजार ५ सय ८२ कुखुरा, एक हजार ३ सय ८२ हाँस, ७९ हजार १ सय ८० बङ्गुरपालन गरिएको छ । जिल्लामा १ सय ९४ गाईफार्म, ६८ भैँसी, २ सय ९३ बाख्रा, ९८ बङ्गुर, २ सय ४२ कुखुरा र ४६ माछाफार्म दर्ता भएर सञ्चालित छन् ।

युवालाई पशुपालनमा आकर्षित गराउन अनुदान वितरण गर्ने, तालिम प्रदान गर्ने, प्राविधिक सहयोग गर्नेलगायत काम विज्ञ केन्द्रले गर्दै आएको छ ।
रासस

कमेन्टहरु
Loading...