विद्यालय भवन स्थानान्तरण र पुनर्निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको भवन स्थानान्तरण भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले क्षतिग्रस्त विद्यालयको भवन स्थानान्तरण गरेर पुनर्निर्माण गरिएको हो ।

नदीको दायाँ किनारमा रहेको विद्यालय भवन बाढीले कटान गरेपछि घ्याँसीखर्कस्थित बायाँ किनारको नयाँ ठाउँमा स्थानान्तरण गरिएको प्रधानाध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिए।

विसं २०७५ भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले कटान गरेर रितुङ माविको आठ कोठे भवन बगाएको थियो । नदी कटानका कारण करिब छ रोपनी जग्गा बगाउनुका साथै थप जोखिम भएकाले भवन स्थानान्तरण गरिएको प्रअ छन्त्यालले बताए ।

विद्यालय स्थानान्तरणका लागि नौ रोपनी जग्गा खरिद गरिएको छ । आन्तरिक स्रोत जुटाएर प्रतिरोपनी रु दुई लाख ५० हजारका दरले जग्गा खरिद गरिएको वडाध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए ।

सोही जग्गामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गाउँपालिकाको सहयोगमा तीन वटा दुई तले १२ कोठे भवन निर्माण भएको छ । प्राधिकरणको रु एक करोड ४० लाख अनुदानमा चार÷चार कोठे दुई वटा भवन निर्माण भएको छ ।

अर्को चार कोठे भवन निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा रु। ३० लाख र आर्थिक वर्ष २०७६÷७७ मा रु। १६ लाख अनुदान सहयोग गरेको थियो । प्रवासमा रहेका कुइनेमङ्गलेबासीहरुले जुटाएर पठाएको रु। नौ लाख लागतमा कार्यालय प्रयोजनका लागि एक तले भवन निर्माण भएको छ ।

भवनका साथै छात्रामैत्री शौचालयसमेत निर्माण भएको छ । नयाँ भवन निर्माण भएको ठाउँमा नदी कटान नियन्त्रण, घेराबार र सुरक्षित खानेपानी योजनाको माग गरिएको अध्यक्ष छन्त्यालले बताए । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा ११५ विद्यार्थी छन् ।

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित सो विद्यालयका तीन शिक्षकलाई निजी स्रोतबाट तलब व्यवस्थापन गरिँदै आएको छ । रासस

कमेन्टहरु
Loading...