पोखरामा चट्टान र सुरुङ विषयको पढाइ सुरु

पोखरा । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इन्जिनियरिङको पढाइ सुरु भएको छ ।

सुरुङ इन्जिनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट सो कार्यक्रमको पढाइ सुरु गरिएको हो । सिभिल इन्जिनियरिङमा स्नातक पास भई इन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उत्तीर्ण १०० मध्यबाट ‘मेरिट लिस्ट’ का आधारमा सिट क्षमताअनुसार पहिलो वर्ष ३ महिलासहित २० जना विद्यार्थी छनोट गरी अध्यापन सुरु गरिएको क्याम्पस प्रमुख इञ्जिीनियर रामप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार कोरोना जोखिमका कारण हाललाई सोमबारदेखि भर्चुअल विधिबाट अध्ययन/अध्यापन सुरु गरिएको छ । सो कार्यक्रम २ वर्षे कोर्षको हुनेछ । यसअघि गत वैशाख १५ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी रहे पनि बन्दाबन्दीका कारण ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । अगामी असोज, कात्तिक र मंसिरमा सैद्धान्तिक कक्षा सञ्चालनपछि प्रयोगात्मक कक्षा सुरु हुनेछ ।

पहाडी भूगोल भएको देशमा तीव्र पूर्वाधार विकासका लागि सुरुङ निर्माणको विकल्प नभएको र सोका लागि आवश्यक जनशक्ति देशभित्रै उत्पादन गरेर मात्र पूर्वाधार निर्माण अघि बढाउन सहज हुने भएकाले मागका आधारमा सुरुङ इञ्जिनियरिङको अध्यापन गरिएको क्याम्पस प्रमुख पौडेलले जानकारी दिएका छन् । उनले भने, ‘रक एण्ड टनेल हालको अवस्थामा बढी जनशक्ति माग भएको क्षेत्र हो, देशले खोजेको जनशक्ति स्वदेशमै उत्पादनका गर्ने योजनाअनुसार यस वर्षदेखि कक्षा सुरु गरेका हौं, कोरोनाले प्रभाव पारे पनि अहिले अनलाइन विधिबाट अध्यापन थालनी गरेका छौं ।’

क्याम्पसले प्रयोगात्मक कक्षाका लागि नेपाल टनेलिङ एसोसिएसन, हाइड्रो ल्याब, एनइए इन्जिनियरिङ लगायतका विभिन्न संस्थासँग सहकार्य गर्ने र उनीहरुको स्रोत साधन उपयोग गर्ने योजना रहेको जनाएको छ । सो कार्यक्रमको कोर्ष सैद्धान्तिकभन्दा अधिकांश प्रयोगात्मक छ । सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका लागि क्याम्पसले हाल विदेशमा रहेका नेपाली विषय विज्ञलाई नै आमन्त्रण गर्ने योजना बनाएको छ ।

विदेशमा रहेका नेपाली विज्ञले समेत अध्यापनका लागि आउने प्रतिबद्धता जनाएको क्याम्पसले जनाएको छ ।‘नेपाली विषयविज्ञ जो हाल विदेशमा हुनुहुन्छ उहाँहरु अध्यापनका लागि आउन तयार रहनुभएको छ । त्यसका साथै नेपाल टनेलिङ एसोसिएसनमा २ सय जति विज्ञ आवद्ध हुनहुन्छ, उहाँहरुबाट सैद्धान्तिक र प्रयोगात्मक कक्षा लिन्छौं ।’ उनले भने । यसअघि क्याम्पसले विषयविज्ञ भेला गरी सुरुङ इन्जिनियरिङको पाठ्यक्रम तयार गरेको थियो । सो पाठ्यक्रमलाई त्रिविले अनुमोदन गरेपछि पढाइ सुरु गरिएको क्याम्पसका चट्टान तथा सुरुङ कार्यक्रममा संयोजक कौशलचन्द्र जिसीले जानकारी दिएका छन् ।

यस विषयको पाठ्यक्रम भौगोलिक अवस्थिति अध्ययन, चट्टान अन्वेषण, अन्वेषण प्रविधि, कन्स्ट्रक्सन प्रविधिलगायतमा केन्द्रित रहेको संयोजक जिसीको भनाइ छ । यसबाट उत्पादित जनशक्ति पूर्वाधार आयोजनामा उच्च माग भएका हुने बताइन्छ । गण्डकी प्रदेश सरकारले सुरुङ इन्जिनियरिङको पठनपाठनमा सहयोग गरेको छ । पाठ्यक्रम तयार गर्न १० लाख बजेट उपलब्ध गराएको सरकारले चालू वर्षमा कार्यक्रम सञ्चालनका लागि २० लाख बजेट विनियोजन गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा.शशीधरराम जोशीले राष्ट्रको आवश्यकता र मागका आधारमा नयाँ नयाँ कोर्ष सुरु गर्दै जाने बताए । उनले पहिलो ब्याचका विद्यार्थीलाई शुभकामना दिँदै देशले खोजेको जस्तो दक्ष जनशक्ति उत्पादन हुने विश्वास लिएका छन् । पश्चिमाञ्चल क्याम्पसमा सो कोर्षको अध्यापनका लागि नर्वेजियन इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (एनटिएनयू) विश्वविद्यालयले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । पाठ्यक्रम निर्माण, प्राध्यापक व्यवस्थापन लगायतमा सो विश्वविद्यालयले सघाएको थियो । एनटिएनयूका प्रोफेसर डा कृष्णकान्त पन्थीले चट्टान तथा टनेल इन्जिनियरिङमा नेपालले क्षमता विकास गर्नु आवश्यक रहेको बताएका छन् ।

नेपाल टनेलिङ एसोसिएसनका अध्यक्ष डा.ज्ञानेन्द्रलाल श्रेष्ठले कोर्षको सफलताका लागि एसोसिएसनले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यसैगरी पश्चिमाञ्चल क्याम्पसले यसै वर्षदेखि स्नातकोत्तर तहमा ‘जिइयोम्याट्रिक्स इन्जिनियरिङ’ को पनि पढाइ सुरु गरेको छ । काठमाडौं विश्वविद्यालय पछि पोखरामा यस विषयको पढाइ सुरु भएको हो । जिइयो म्याट्रिक्समा स्नातक विसं २०६९ बाट सुरु भएकामा अहिले स्नातकोत्तरको समेत अध्यापन सुरु गरिएको सहायक क्याम्पस प्रमुख सुनिल दाहालले बताएका छन् । यस कार्यक्रममा १६ जना विद्यार्थी छन् । रासस

कमेन्टहरु
Loading...