गन्थन विशेषः २ सय मलामी क्वारेन्टाइनमा, लापरवाही कसको ?

दिपक के श्रेष्ठ

पोखराको फिस्टेल अस्पतालमा बिहीबार राती एक ४५ वर्षीया बिरामीको मृत्यु भयो । उपचाररत रहेकै बेला उनको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो । तर, नतीजा आउनु अगावै उनको मृत्यु भएपछि शुक्रबार आफन्तले शव जिम्मा लिएर दाहसंस्कार गरे । पोखरामा प्रायःले चिनेजानेका व्यक्तिको पत्नी भएकाले लकडाउनमा पनि मलामीको संख्या २ सयको हाराहारीमा थियो । शनिबार बिहान स्वाब रिपोर्ट पोजिटिभ आएपछि सबै मलामी हाल क्वारेन्टाइनमा छन् ।

अस्पताल र मृतकका आफन्तका अनुसार उनमा क्यान्सर र मृगौलामा समस्या भएको बताइएको छ । कोरोना परीक्षणार्थ स्वाब दिएपछि नतीजा आउनु अगावै अस्पतालले शव बुझाउँदा २ सयको हाराहारीमा गएका मलामी क्वारेन्टाइनमा छन् । त्यसपछिको २६ घण्टा मलामीहरुले कहाँ, कसरी बिताए। यसको अहिले नै आँकलन गर्न सकिन्न । यस अर्थमा अस्पतालले सरासर गल्ती गरेको छ ।

मृतकका आफन्तहरुले शव बुझ्न नमाने पनि अन्ततः दाहसंस्कार गर्न राजी भएर उनीहरुसमेत कुनै न कुनै हिसाबले दोषी देखिएका छन् । पिसिआर गरेपछि किन शव बुझाउनै हतार गरियो भन्ने प्रश्नमा अस्पतालका अध्यक्ष अशोक पालिखे भन्छन्, ‘हामीले हतारमा र जबर्जस्ती शव बुझाएको होइनौ, मृतक क्यान्सरकी बिरामी थिइन्, अस्पतालका चिकित्सकहरुले कोरोनाको शंका गरेनन्, आफन्तले पनि कोरोना नभई क्यान्सरकै कारण मृत्यु भएको भन्ने विश्वास गरे ।’

पालिखेको भनाइप्रति मृतकका आफन्त सहमत छैनन् । अस्पतालले कोरोनाले नभई पुरानै रोगले मृत्यु भएको भन्दै शव बुझाउन जबर्जस्ती गरेको आफन्तले जनाएका छन् । ‘नहुनु थियो, भयो । तर अस्पतालले गर्दा हामीले सामाजिक अपराध गरेको देखियो, हामीलाई ग्लानी महशुस भएको छ । हाम्रो कारणले धेरैजना असुरक्षित हुनु प¥यो’ मृतकका आफन्तले भनेका छन् ।

अस्पतालले हतारमा शब बुझाउनको पछाडी कारण भने भिन्न छ । पहिलो, अस्पतालका चिकित्सक र प्रशासन मृतकमा कोरोना संक्रमण छैन भन्नेमा विश्वस्त हुनु । दोस्रो, शव अस्पतालमा राखिराख्न असम्भव हुनु । मृतकका शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राख्न सकिने भएपनि त्यो सम्भावना न्यून रहेको निजी अस्पताल बताउँछन् । उनै पालिखेको शब्दमा ‘निजी अस्पतालको बिरामीको स्वाब परीक्षण गर्न समेत सरकारी अस्पताल मान्दैनन् भने शवगृहमा हामीले शव राख्न पाउने त नसोचे पनि हुन्छ ।’

पिसिआरको रिपोर्ट दिन बढी समय लगाउने परिपाटी गलत भएको भन्दै अस्पतालले आफ्नो बचाउ गरेको छ । ‘५ घण्टाभित्र दिनुपर्ने रिपोर्ट ३ दिन लगाउँदा यस्तो भएको हो’ अस्पतालले यसरी आफुलाई माथि राख्ने प्रयास ग¥यो । पालिखेको उक्त भनाई विश्वसनीय लाग्दैन । यद्यपि, बिरामीमा कोरोनाको शंका नगर्नु कमजोरी भएको अस्पतालले स्वीकारेको छ ।

यस विषयमा आधिकारिक धारणा लिन स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका बागडोर सम्हालेर बसेका निर्देशक डा. विनोद विन्दु शर्मा मरिगए फोन उठाउँदैनन् । तर, शव आफन्तलाई बुझाएर अस्पतालले गल्ती गरेकै हो । अस्पताल प्रशासन र चिकित्सकहरुको ‘ओभर कन्फिडेन्ट’कै कारण पोखरामा कोरोना त्रास ह्वात्तै बढेको छ ।
‘बिरामी भर्ना नलिए मिडियाले ‘फिस्टेल अस्पतालले बिरामी फर्कायो’ भन्छ, भर्ना लिएर स्वाब पठायो, ३ दिनमा पनि रिपोर्ट दिँदैन’ पालिखे भन्छन् ‘दुबैतिरबाट हामी मर्कामा छौं ।’

कोराना रिपोर्ट नकुर्ने उल्टै दुखेसो पोख्ने पालिखेको भनाई न्यायसंगत छैन । ‘हाम्रै अस्पताल सिल भएको छ, हामै ३ जना डाक्टर क्वारेन्टाइनमा छन्, उनी भनिरहेका छन् । हाल अस्पतालको आइसियू र आपतकालीन सेवा बन्द गरिएको छ । यद्यपि, अस्पतालमा घटेको घटना र लापरवाहीबारे पोखरा महानगरपालिकाअन्तरगत जनस्वास्थ्य महाशाखाले छानबीन गर्ने भएको छ ।

महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले यसबारे छानबीन गर्ने बताए । ‘घटना गम्भीर छ, आज शनिबार भएकाले हामी बुझ्दैछौं, उनले भने ‘भोली आइतबार हामी एक्सनमा जान्छौं ।’ स्वास्थ्य निर्देशनालयका एक अधिकारीले भने अस्पतालको लापरवाहीप्रति कुनै संदेह नभएको भन्दै कारवाहीको दायरामा ल्याएरै छाड्ने जनाएका छन् । ‘पिसिआर गरेपछि रिजल्ट नकुर्नु अस्पतालको गल्ती हो’ उनले नाम उल्लेख नगर्ने शर्तमा भने ‘संवेदनशील विषयमा अस्पतालले खेलाँची गरी सबैलाई असुरक्षित बनाएको छ ।’

कमेन्टहरु
Loading...