चितवन । युरीया मलको अभाव खेपिरहेका जिल्लाका कृषकको धान खेतमा गबारो किराले नोक्सान गर्न थालेको छ । धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाई दिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीनाका अनुसार किसानले झोल र दाना बिषादी छरेको भए पनि रोग नियन्त्रणमा आउन सकेको छैन ।
खेतका बिचबिचमा थेग्लाथेग्ला भएर किरा लागेको छ । त्यही ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा किसानले विषादी छरेकाले रोग नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ । तिमिल्सीनाले किराकै कारण बाला पसाई सकेपछि ठाउँठाउँमा दूध नभरिएको सेता बाला देखिने जानकारी दिए ।
समयमा रोगको नियन्त्रण गर्न सकेमा रोगलाई केही हदसम्म नियन्त्रण गर्न सकीने उनको भनाइ छ । किसानको पुरानो अभ्यासअनुसार नै बारिको ठाउँठाउँमा टायर बालेर त्यसको तल भाँडामा सरफपानी राखेमा उज्यालोमा आएका किराहरु झरेर मर्ने उनले जानकारी दिए।
पुतलीको माउ र फुल सजिलै चिन्न सकिने भन्दै उहाँले यो सङ्ख्या धेरै नहुने भएकाले कृषकले प्रत्यक्ष रुपमा नष्ट गर्न सक्ने बताए । यसो गर्न सकेमा रसायनिक बिषादीमा खर्च गर्नु नपर्ने उनको भनाइ छ । गबारोले जिल्ला भरिनै देखिएको उनले जानकारी दिए ।
त्यस्तै धानको पातमा लाम्चो कालो हुने ‘सिथ व्लाईट’ रोग पनि देखिन थालेको छ । यो रोगले धानको पात सुकाउँछ । पसाउने वेलाको धानमा देखीएको छ । धानमानै सेतो झिङ्गा पनि देखिन थालेको छ ।
यसले रस चुसेर बोट पहेंलो बनाएर क्षति पु¥याउने उनको भनाइ छ । यो रोग पूर्वी चितवनमा बढि रहेको छ । जिल्लाको २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।
रासस