परासी । कोभिड– १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा भने बजारसम्म पुग्न नसक्दा बोटमै कुहिन थालेका छन् ।
स्थानीयस्तरमा उत्पादित केराले बजार पाउन छाडेपछि यहाँका कृषक निराश छन् । नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा रहेको र निर्बाध सवारीसाधन सञ्चालन हुन नपाउँदा नवलपरासी बर्दघाट–सुस्ता पश्चिमका कृषकले उत्पादन गरेको केरा बजारसम्म सहज रुपमा ढुवानी तथा बिक्रीवितरण हुन नपाएको नवलपरासी केरा उत्पादक सङ्घका अध्यक्ष लख्खु यादवले बताए ।
पछिल्लो समय जिल्लामा केराको उत्पादन बढ्दो अवस्थामा रहेको छ । बिक्रीका लागि तयारी अवस्थामा रहेको केराले बजार पाउन नसकेपछि खेतमै पाकेर कुहिन थालेको उनले बताए । सङ्घका अनुसार जिल्लामा वार्षिक रु दुई अर्ब बराबरको केरा उत्पादन हुने गरेको छ ।
पश्चिम नवलपरासीमा करीब दुई हजार ५०० बिघामा केराखेती हुने गरेको छ । दुई हजार कृषक यसमा संलग्न छन् । विगतमा एक हजार २०० कृषक केरा खेतीमा आबद्ध थिए । यहाँ उत्पादित केरा स्थानीय बजारसहित कास्की, काठमाडौँ, चितवन, धादिङ, रुपन्देहीलगायतका शहरमा पुग्ने गरेको छ ।
उखुको विकल्पमा केराखेतीतर्फ आकर्षित कृषक लामो समयको बन्दाबन्दका कारण बिक्री हुन छाडेपछि चिन्तामा छन् । जिल्लामा सबैभन्दा धेरै केरा उत्पादन गर्दै आउनुभएका सुस्ता गाउँपालिका–५ का सञ्जय कोंहारले बिक्री हुन नसकेर खेतमै कुहिन थालेको गुनासो गरे।
बजारसम्म सहज रुपमा केरा पुग्न नसक्दा कृषकले केराको उचित मूल्य पाउन सकेका छैनन् । थोकमा प्रतिदर्जन रु ४५ मा बिक्री हुने गरेको केराको मूल्य घटेर अहिले रु ३० मा पुगेको उनले बताए। वार्षिक २१ लाख जग्गा भाडामा लिएर व्यावसायिक रुपमा केराखेती गर्नुभएका कोंहारको खेतमा ४५ हजार केराका बोट छन् । बजारको व्यवस्थापन समयमै र सहज रुपमा हुन सके केरा खेतीबाट लगानीको झण्डै दोब्बर आम्दानी हुने गरेको कृषक बताउँछन् ।
कृषक कोंहार केराखेतीबाट वार्षिक रु ४५ लाखसम्म नाफा हुने गरेको बताउछन् । यस वर्ष लागत उठाउन पनि मुश्किल परेको उनको भनाइ छ । प्रतापपुर गाउँपालिका–६ का छविलाल हरिजनले बिक्रीका लागि तयार भएको केरा खेतमै कुहिन थालेको बताउँदै लागत उठाउन पनि गाह्रो भएको गुनासो गरे । केराको उचित मूल्य पाउने वातावरण बनाइदिन उनले सरकारसँग माग गरेका छन् ।
दुई वर्षदेखि केराखेती थाल्नुभएका हरिजनले दुई बिघाभन्दा बढीमा केराखेती गर्दै आइरहेका छन् ।प्रतापपुर र सुस्ता गाउँपालिका उखुको मुख्य क्षेत्रका रुपमा परिचित रहे पनि लामो समयसम्म भुक्तानी नपाउने समस्या भोगेका यहाँका कृषकले उखुको विकल्पमा नगदे बालीकै रुपमा केराखेती गरेका हुन् । पछिल्लो पटकको विषम परिस्थितिले यो खेती पनि धराशायी हुने अवस्थामा पुगेको सङ्घका वरिष्ठ उपाध्यक्ष सुदामा कोइरी बताउछन् ।
मुलुकमा तीन तहका सरकार बने पनि कृषकको हितमा कुनै सरकारले ठोस काम गर्न नसकेको उनको आरोप छ । खुला सीमा नै नेपाली कृषकको मुख्य चुनौती रहेको विनयी त्रिवेणी गाउँपालिका–७ का कृषक मदनकुमार कुशवाहा बताउछन् । कोरोना महामारीका कारण बिचौलिया हावी हुँदा केरा कृषकले उचित मूल्य पाउन नसकेको उनको भनाइ छ । उनका अनुसार केराको खुद्रा मूल्यमा घटी नभएको तर बिचौलियाले थोक मूल्य दोब्बर घटाएर कृषकसँग केरा खरीद गर्ने गरेका छन् ।
स्थानीयस्तरमा कृषि प्राविधिक उपलब्ध नहुनु तथा केराको बीमा हुन नसक्दा उत्पादन वृद्धि गर्न पनि नसकिएको कृषकको गुनासो छ । प्रतापपुर, सुस्तालगायत गाउँपालिकामा कृषि प्राविधिक नहुँदा प्राविधिक सहयोग पाउन नसक्नाका साथै कृषकमैत्री बीमा नीति नहुँदा केराको बीमा पनि गर्न नसकिएको कृषक कुशवाहाले बताए ।
केरामा नेपाल ५० प्रतिशत आत्मनिर्भर मानिन्छ । केरा खेतीलाई दीर्घकालीन रुपमा स्थापित गर्न समयानुकूल केरा नीतिको आवश्यक रहेको कृषक बताउँछन् । कृषकलाई उचित अनुदान, समयमा मलबीउको उपलब्धता तथा बजार व्यवस्थापनको सुनिश्चितता गर्न सके केराबाट हजारौँ कृषक आत्मनिर्भर हुने सङ्घका अध्यक्ष यादवको भनाइ छ ।
रासस